२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, पारस भन्छन, ‘फेरि विश्वकप खेल्ने सपना छ’

काठमाडौं – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्केको छ। मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए।

शुक्रबार भएको छनोट चरणको अन्तिम खेल वर्षाका कारण रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो। उपाधिसँगै नेपाल विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ। नेपालसँगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेका छन्।

त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन्। “फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छाैं, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ,”कप्तान खड्काले भने।

अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नुहुने बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए। “अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ,”खड्काको भनाइ थियो।

एसिया छनोटमा छ टोलीले खेल्नेछन्। यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।   

प्रकाशित: २७ आश्विन २०७५ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App