काठमाडौं – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेल आज आयोजक मलेसियाको सामना गर्नेछ। खेल अहिले बिहान ७ः४५ बाट सुरु हुने छ।
नेपाल र मलेसिया ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेको पाँच वर्षपछि यो पहिलो पटक हो। नेपालले २०१३ मा भएको एसिसी ट्वान्टी–२० प्रतियोगितामा मलेसियालाई १९ रनले निराश पारेको थियो। हालसम्म मलेसियाविरुद्ध खेलेका तीन ट्वान्टी–२० खेलमध्ये नेपालले २ मा जित हात पारेको छ भने एक खेल गुमाएको छ।
समूह बी मा १ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ भने २ खेल खेलेका थाइल्यान्ड र मलेसिया ३ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
नेपालले बुधबार पहिलो खेलमा म्यानमारविरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो । म्यानमारले प्र्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले १८ बलमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस्तै मलेसियाले पहिलो खेलमा भुटानलाई ६७ रनले हराएको थियो भने वर्षाका कारण दोस्रो खेलमा बिहीबार थाइल्यान्डसँग १ अंक बाँडेको थियो।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
अंकतालिका
टिम खेल जित हार बराबर अंक रनरेट
थाइल्यान्ड २ १ ० १ ३ +११.७५०
मलेसिया २ १ ० १ ३ +३.३५०
नेपाल १ १ ० ० २ +८.५५०
सिंगापुर १ १ ० ० २ +६.९५०
भुटान २ १ १ ० २ +०.६४७
म्यानमार २ ० २ ० ० –७.८१६
चीन २ ० २ ० ० –१०.७६९
प्रकाशित: २० आश्विन २०७५ ०१:५४ शनिबार