२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटको उपाधि भारतलाई, बंगलादेश ३ विकेटले स्तब्ध

काठमाडौं – एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। युएईमा शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ३ विकेटले स्तब्त्र पार्दै भारतले सातौं पटक प्रतियोगिताको उपाधि जितेको हो।

बंगलादेशले दिएको २ सय २३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेटको क्षतिमा भेट्टाउदै रोमाञ्चक जित दर्ता गर्यो। कुनैपनि ब्याट्सम्यानले ५० रनको आकडा छुन नसकेपनि भारतले जित हात पार्न सफल भयो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। त्यस्तै दिनेश कार्तिकले ३७, महेन्द्रसिंह धोनीले ३६, केदार जाधब र रबिन्द्र जडेजाले समान २३–२३, भुवनेश्वर कुमारले २१ र शिखर धवनले १५ रनको योगदान दिए। बंगलादेशका मुस्ताफिजुर रहमान र रुबेल हसनले समान २–२ तथा नाजमुल इस्लाम, मसरफे मुर्तजा र महमुदुल्लाले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४८.३ ओभरमा अलआउट हुँदै २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बंगलादेशका लागि ओपनर लिटन दासल सर्वाधिक १ सय २१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन्।

दासले ११७ बलको सामना गर्दै १२ चौंका र २ छक्का प्रहार गरे। पहिलो विकेटका लागि ओपनर दास र मेहिदी हसनले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै विशाल योगफल तर्फ डोर्याउने संकेत देखाएका थिए। हसन ३२ रनमा आउट भए।

तर त्यसपछि आएका ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टोलीले सामान्य स्कोर मात्र बनाउन सक्यो। त्यस्तै सौम्या सरकारले ३३ रन बनाउनु बाहेक अन्यले दाहोरो रनको आकडा छुन सकेनन्। भारतका लागि कुलदिप यादबले ३, केदार जाधबले २ तथा जसप्रित बुमराह र युजबेन्द्र चाहलले एक–एक विकेट लिए।

फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने। त्यस्तै भारतका लागि ५ खेलमा ३४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने। 

प्रकाशित: १३ आश्विन २०७५ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App