२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

फुटबल सिक्न बोल्ट अस्ट्रेलियामा

सिड्नी – विश्व कीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले व्यावसायिक फुटबल खेलाडी बन्न आतुर रहेको बताएका छन्।

शनिबार अस्ट्रेलिया ए लिग क्लब सेन्ट्रल कोस्ट मराइनमा ट्रायलका लागि आएका बोल्टले विश्वसामु आफू व्यावसायिक फुटबल खेलाडी बन्न योग्य छु भन्ने प्रमाणित गर्ने योजना रहेको बताएका हुन् । माराइनले बोल्टलाई आगामी महिनाबाट क्लब प्रशिक्षणमा सहभागी हुन अनुमति दिएको थियो।

ओलम्पिकका ८ स्वर्ण विजेता बोल्टले गत वर्ष एथ्लेटिक्सबाट संन्यास घोषणा गरेका थिए । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपको शीर्ष लिग खेल्ने इच्छा राखेका बोल्टले जर्मनीको बोरुसिया डर्टमन्ड, नर्वेको स्ट्रोम्सगड सेट र दक्षिण अफ्रिकाको सन डाउनमा ट्रायल दिए पनि आफूलाई प्रमाणित गर्ने भने सकेका थिएनन्।

बोल्टले अक्टोबरबाट सुरु हुने अस्ट्रेलियन ‘ए’ लिगको नयाँ सिजनसम्म आफू व्यावसायिक खेलाडी बन्नका लागि योग्य रहेको प्रमाणित गर्दै क्लबमा अनुबन्धिन हुने योजना रहेको बताए । ‘मैले एथ्लेटिक्समार्फत विश्वमा आफ्नो क्षमता प्रमाणित गरिसकें,’ बोल्टले भने, ‘तर म अब आफूलाई व्यावसायिक फुटबल खेलाडी बन्न पनि लायक छु भन्ने प्रमाणित गर्न चाहन्छु ।’

‘म अस्ट्रेलिया आउँदा धेरै उत्साही छु र  क्लबले दिएको अवसरका  लागि मराइनका सिइओलाई विशेष धन्यवाद दिन चाहन्छु,’ जमैकन धावक बोल्टले थपे, ‘व्यावसायिक फुटबल खेलाडी बन्ने मेरो बाल्यकालदेखिको सपना हो । मैले आफूलाई एक व्यावसायिक खेलाडीका रूपमा प्रमाणित गर्न धेरै मिहिनेत गर्नुपर्छ र म त्यसका लागि तयार छु।’

शनिबार अस्ट्रेलिया आइपुगे पनि बोल्ट मंगलबारबाट मात्र क्लबको अभ्यासमा सहभागी हुनेछन् । मराइनका प्रमुख साउन मिलेकाम्पले भने बोल्टका लागि अभ्यासमा कुनै विशेष प्रकारको सुविधा नदिइने प्रस्ट पारे।

‘उसेन बोल्ट ट्रायलका लागि अभ्यासमा सहभागी हुनेछन्,’ मिलेकाम्पले भने, ‘बोल्ट ओलम्पिक च्याम्पियन हुन् । तर उनी अहिले एथ्लेटिक्स नभई फुटबलको अभ्यासमा सहभागी छन् र त्यसैले बोल्टलाई क्लबका अन्य  खेलाडीसरह व्यवहार गरिनेछ।’

 

प्रकाशित: ३ भाद्र २०७५ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App