मड्रिड – ब्राजिलका १८ वर्षे भिनिसियस जुनियरलाई स्पेनिस क्लब रियाल मड्रिडले शुक्रबार सार्वजनिक गरेको छ।
दुई वर्षअगाडि ४ करोड ५० लाख युरोमा क्लबमा अनुबन्धित गर्ने सम्झौता गरेको मड्रिडले भिनिसियसलाई १८ वर्ष पूरा भएपछि आधिकारिक रूपमा क्लबको जर्सीमा सार्वजनिक गरेको हो। स्पेनमा कुनै पनि खेलाडी १८ वर्ष नपुगी क्लबमा अनुबन्धित गर्न नपाइने कानुन छ। २००२ को विश्वकपको उपाधि दिलाएका ब्राजिलियन रोनाल्डोसँग भिनिसियसलाई तुलना गरिएको छ ।
'भिनिसियस राम्रा र उत्कृष्ट खेलाडी हुन् । आशा गरिएका भविष्यका ठूला खेलाडी हुन्,' ब्राजिलियन रोनाल्डोले भने।
क्लबमा अनुबन्धित भिनिसियसले पाएको मौकालाई भरपूर सदुपयोग गर्ने बताए । 'फुटबल खेलाडीका लागि यो एउटा राम्रो मौका हो,' १० वर्षको सानो उमेरमै फ्लेमिङ्गोमा आबद्ध भएका युवा खेलाडी भिनिसियसले भने, 'रियाल मड्रिडमा खेल्ने मौकालाई सदुपयोग गर्न म अन्य सबै त्याग गर्न तयार छु ।' उनले अगाडि भने– '१८ वर्षे उमेरमा नै राम्रो खेल खेलेर प्रशिक्षक र साथीहरूलाई कुनै बेला पनि खेल्न तयार छु भन्ने प्रमाणित गर्नेछु ।'
रियाल मड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएपछि क्लबमा अन्य युवा खेलाडीलाई ल्याउने बताइरहेका छन्।'बधाई र तिम्रो घरमा स्वागत छ,' भिनिसियसलाई स्वागत गर्दै पेरेजले भने, ' १६ वर्षको उमेरमा नै रियाल आउने निर्णयले हामी उत्साहित भएका थियौं । अब उत्कृष्ट खेल खेल्दै प्रमाणित गर्ने समय आएको छ ।'
रियालका अध्यक्ष पेरेजले टोलीमा युवा खेलाडी अनुबन्धित गराउने उद्देश्य रहेको बताए ।
प्रकाशित: ७ श्रावण २०७५ ०४:५४ सोमबार