१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मनाङको फराकिलो जित, अाज पुलिस र एपीएफ भिड्दै

मनाङविरुद्ध गोल खोस्ने प्रयास गर्दै सरस्वती क्लबका खेलाडी।      तस्बिर: युवराज/नागरिक

झापा – सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङका लागि सुजल श्रेष्ठले २ तथा विमल बस्नेत, तीर्थ बस्नेत र सुवास गुरुङले एक–एक गोल गरेका थिए । खेलको ४९औं मिनेटमा सुजलले पहिलो गोल गर्दै मनाङलाई अग्रता दिलाए । यस्तै ६१औं मिनेटमा विमलले अर्को गोल थप्दै टिमको अग्रता दोब्बर पारेका थिए । ८५औं मिनेटमा तीर्थ बस्नेतले अर्को गोल थपे । एक मिनेट बित्न नपाई ८६औं मिनेटमा सुवासले गोल गर्दै मनाङको अग्रता ४–० मा पुर्याए । खेलको अतिरिक्त समयमा पुनः सुजलले गोल गर्दै मनाङको जित ५–० ले सुनिश्चित गरे । मनाङले दोस्रो हाफमा सबै गोल गरेको हो।

सोमबारको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । १३औं मिनेटमा मनाङका सुजलले गरेको प्रहार सरस्वतीका गोलकिपर अशोक बरालले पन्च गरेर विफल बनाए । यस्तै ३६औं मिनेटमा मनाङका सुजलकै प्रहार सरस्वतीका डिफेन्डरले क्लियर गर्दै गोल हुनबाट जोगाएका थिए । यसै गरी ५५औं मिनेटमा विमल बस्नेतको प्रहार गोलपोस्टनजिकैबाट बाहिरिएपछि मनाङले थप गोलको अवस्था गुमाएको थियो । ७७औं मिनेटमा हेमन गुरुङको क्रस पासलाई सुजलले गोलपोस्टको दिशा दिन सकेनन्।

खेलमा दुई गोल गरेका सुजल श्रेष्ठ म्यान अफ दी म्याच हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले नगद ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: २५ वैशाख २०७५ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App