मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सविरुद्ध १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको बेंग्लोर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनमा समेटियो। पार्थिव पटेलले सर्वाधिक ५३ रन र टिम साउदीले ३६ रन बनाउनु बाहेक बेंग्लोरका लागि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ४१ बल खेलेका पटेलले ५ चौका र २ छक्का प्रहार गरे भने साउदी २६ बलमा ३ चौका र १ छक्कासहित अविजित रहे।
पटेल र साउदीबाहेक बेंगलोरका अन्य व्याट्सम्यान चेन्नईका बलरसामु निरिह बने। आश गरिएका कप्तान विराट कोहली पनि ८ रनमै आउट भए।
बेंग्लोरलाई सस्तैमा समेट्न रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। हरभजन सिंहले २ तथा डेभिड विल्ली र लुंगी नगिदीले १–१ विकेट लिए।
प्रकाशित: २२ वैशाख २०७५ ११:५५ शनिबार