मड्रिड – भिल्लारियालसँग शनिबार २–२ को बराबरी खेलेपछि सेभियाले स्पेनिस ला लिगको छैटाैं स्थानमा उक्लिने मौका गुमाएको छ।
दुवै टोली दश खेलाडीमा रहेर अन्त्य गरेको खेलमा सेभियाले घरेलु मैदानमा बराबरीमा चित्त बुझाएको हो । ड्यानियल राबाको गोलमा भिलारियालले ३६औं मिनेटमा अग्रता लिएको थियो । ६८औं मिनेटमा कार्लोस बाकाले भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाए।
त्यसअघि ६२औं मिनेटमा सेभियाका विसम बेन एडरले दोस्रो पहेंलो कार्डको समना गर्दै मैदान बाहिरएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ७६औं मिनेटमा जाउमे कोस्टाले पनि दोस्रो पहेंलो कार्डको सामना गरेपछि भिल्लारियाल पनि १० खेलाडीमा समेटियो।
७७औं मिनेटमा नोलिटोको गोलमा सेभियाले पुनरागमन जनायो । नोलिटोले हानेको पेनाल्टी प्रहार विपक्षी गोलकिपरले रोकेका थिए । तर पुनः प्राप्त बलाई नोलिटोले गोलमा परिणत गरे । त्यसको १० मिनेटपछि स्टेभन एनजोन्जीले बराबरी गोल फर्काएपछि सेभिया अंक बाँड्न सफल भयो । सेभिया ३२ खेलबाट ४७ अंकका साथ सातौं स्थानमा छ भने एक अंक बढी भएको भिल्लारियाल छैटौं स्थानमा छ।
जितसँगै रियाल बेटिसले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ।
रियाल बेटिसले लिगामा लगातार पाचौं विजय हासिल गर्ने क्रममा शुक्रबार जिरोनाविरुद्ध १–० को नतिजा निकालेको छ । जितसँगै रियाल बेटिसले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
लोरेन मोरोनले पहिलो हाफमा गरेको गोल रियाल बेटिसलाई तीन अंक जोड्न पर्याप्त भयो । ३६औं मिनेटमा कप्तान जोएक्विन सान्चेजको सुन्दर पासलाई पेनाल्टी बक्समा रहेका मारोनले कुनै गल्ती नगरी पोस्टको दिशा दिएका थिए।
जितसँगै बेटिसले पाँचौं स्थान बलियो बनाएको छ । रियाल बेटिस छैटौं स्थानको भिल्लारियालभन्दा ५ अंकले तथा सातौं स्थानको सेभियाभन्दा ६ अंकले अगाडि छ । तथापि भिल्लारियाल र सेभिया दुवैले एक खेल कम खेलेका छन्।
घरेलु मैदानमा पराजय भोगेको जिरोनाले पछिल्लो पाँच खेलमा विजय हासिल गर्न सकेको छैन । ३१ खेलबाट ४३ अंक जोडेको जिरोना लिगको आठौं स्थानमा छ । जुन छैटौं स्थानको सेभियाभन्दा २ अंकले पछाडि हो।
३१ खेलबाट ७९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ भने समान खेलबाट ६८ रन बनाएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । भ्यालेन्सिया तेस्रो तथा रियाल मड्रिड चौथो स्थानमा छन्।
उल्फसबर्ग– औसबर्गसँग शुक्रबार गोलरहित बराबरी खेलेपछि उल्फसबर्ग जर्मन बुन्डेसलिगाको रेलिगेसनमा पर्ने सम्भावना बढेको छ।
उल्फसबर्ग रेलिगेसन क्षेत्रको मेइन्जभन्दा ३ अंकले मात्र माथि छ । एक खेल कम खेलेको मेइन्जले सोमबार फ्रेइबर्गलाई पराजित गरे उल्फसबर्गसँग अंक बराबरी गर्नेछ।
प्रकाशित: २ वैशाख २०७५ ०४:२१ आइतबार