१७ मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एनपीएलः कर्णालीद्वारा जनकपुरसामु १४२ रनको लक्ष्य, चलेनन् विदेशी खेलाडी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।  

ओपनिङ राम्रो नभएपनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेपछि कर्णाली सम्मानजनक योगफल तयार पार्न सफल भएको हो । दोस्रो ओभरमा नै ओपनर देव खनाललाई एक रनमा गुमाएको कर्णालीका चर्चित ब्याट्सम्यान शिखर धवन पनि १४ रनमा आउट भए । मात्र १४ बलको सामना गरेका उनी हर्स ठाकरको बलमा बोल्ड भए । खनाललाई भने ललित राजवंशीले आउट गरे ।  

अर्का विदेशी खेलाडी चाड्वीक वाल्टन ८ र जिशान मक्सुद शुन्य रनमा पवेलियन फर्के । बाबर हायात पनि १२ रनमा क्याच आउट भए । बाबरले गुल्शन झासँग मिलेर पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गर्दै आशा जनाएका थिए । गुल्शन ३६ रनमा किशोर महतोको बलमा बोल्ड भए ।  

अर्जुन घर्ती ३३ रनमा आउट भए । अर्जुनले १९औं ओभरमा हर्स ठाकरविरुद्ध २२ रन जोडे । २२ बलकाे सामना गरेका उनले २ छक्का र २ चाैका प्रहार गरे । क्याप्टेन सोमपाल कामी २९ रनमा नटआउट रहे । सोमपालले मात्र १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २९ रन बनाए । 

अन्तिम दुई ओभरमा सोमपाल र अर्जुनले ४३ रन जोडेपछि कर्णाली १४२ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । दुवैले सातौं विकेटका लागि ५६ रनको साझेदारी गरे । 

मोहमद मोहसिनले २ र जेम्स निशामले एक विकेट लिए ।  

एनपीएलमा कर्णालीको यो पहिलो खेल हो भने जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो ।  

सोमबार नै भएको पहिलो खेलमा चितवन राईनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।  

प्रकाशित: १७ मंसिर २०८१ १४:३२ सोमबार

#Karnali yaks #janakpur bolts #NPL