ललित स्मृति एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने विभागीय टोली नेपाल पुलिस क्लबको योजनामा सोमबार ठुलो धक्का लागेको छ।
दोस्रो चरणको सुरुआती खेलमै थ्री स्टार क्लबले पुलिसलाई १–० ले हराएको हो।बुधवार मात्रै पुलिसले चर्च बोइज युनाइटेडविरुद्ध ३–१ को सानदार जित निकाल्दै न्युरोड टिम (एनआरटी)सँग एक अंकको अग्रता कायम गरेको थियो।तर, त्यसको पाँच दिनपछि सो अग्रता चारमा पुर्याउने मौका पुलिसलाई जुरेको थियो। तर, नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर भोलानाथ सिलवालको नेतृत्वमा रहेको पुलिसले खेल अवधिभर औसत प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक गुमायो।
यो सिजन पुलिसले १० अंक गुमाइसकेको छ। १२ खेलबाट २६ अंक जोड्दै शीर्ष स्थानमा रहेको पुलिसको यो दोस्रो हार हो। यसअघि पुलिसले लिगमा एनआरटीसँग ४–२ को फराकिलो हार बेहोरेको थियो।
त्यस्तै, विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित र मच्छिन्द्र फुटबल क्लबसँग ३–३ को बराबरी खेलेको थियो।थ्री स्टारको भने यो लगातार तेस्रो जित हो। पछिल्लोपल्ट सशस्त्र प्रहरी बलको एपिएफलाई २–१ को नतिजा सुम्पिएको थ्री स्टारले त्यसयता मच्छिन्द्रलाई २–० र मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै लिगमा पुनरागमन गरेको थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टारलाई लगातार जित दिलाउने क्रममा रोमन श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।तर, दोस्रो हाफ सुरु भएको १६औँ मिनेटमै रोमनले पुलिसका डिफेन्डरले गरेको गल्तीलाई सदुपयोग गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका हुन्।
सर्ट कर्नरमा तालमेल मिलाउँदै सेट पिसमा प्रवेश गर्न लागेका रोमनलाई पुलिसका डिफेन्डर बुद्धि बुद्धले तानेर लडाएपछि मुख्य रेफ्री विजय तामाङले फ्रिकिक दिए । पेनाल्टी बक्सनजिकको फ्रिकिकलाई विफल पार्न पुलिसका गोलकिपर सागर चन्दले पाँच जनाको ‘वाल’ बनाएका थिए । तर, उक्त ‘वाल’लाई चिर्दै रोमनले माथिल्लो बारतर्फबाट सीधै गोल गरे।
यो गोल नै खेलमा निर्णायक बन्यो।जितसँगै तेस्रो स्थानको थ्री स्टारले शीर्ष दुईमा रहेको पुलिससँग चार र एनआरटीसँग अंक दूरी तीनमा झारेको छ। १२ खेलको समाप्तिमा थ्री स्टारले ६ जित, एक बराबरी र तीन हारसहित २२ अंक पुर्याएको छ।
अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबमाथि पुनरागमन बराबरी गर्यो।योसँगै जावलाखेलले चौथो स्थानमा उक्लिने मौका गुमाएको छ। जावलाखेलको १२ खेलबाट १८ अंक पुगेको छ । एपिएफको पनि समान खेलबाट समान अंक छ।
खेलको चौथो मिनेटमै धर्वेन्द्र कुँवरले जावलाखेललाई सुरुआती अग्रता दिलाए। विवश दर्लामीले दिएको ‘इनस्विङ’ क्रसलाई कप्तान धर्वेन्द्रले राम्रो ‘टच’ दिँदै गोल गरेका हुन्। विवशको क्रसलाई एपिएफका डिफेन्डर विकास टिटुङले रोक्ने मौका पाए पनि गोलकिपर मोहन वाइबालाई छाडिदिँदा धर्वेन्द्रले गोलको मौका पाएका हुन्। तर, उक्त अग्रता जावलाखेलले जोगाउन सकेन।
३१औँ मिनेटमा एपिएफ पेनाल्टी गोलमार्फत खेलमा फर्कियो। पवन पाख्रिनको फ्रिकिकलाई सुनील थिङले पेनाल्टी बक्सबाट ‘ओभर हेड किक’ प्रहार गरेका थिए। तर, उक्त बललाई जावलाखेलका डिफेन्डर निशान राईले हातले छोएपछि एपिएफले पेनाल्टी पाएको हो।जसलाई पवनले सहजै गोलमा परिणत गरे।
यो सिजन पुलिसले १० अंक गुमाइसकेको छ।१२ खेलबाट २६ अंक जोड्दै शीर्ष स्थानमा रहेको पुलिसको यो दोस्रो हार हो। यसअघि पुलिसले लिगमा एनआरटीसँग ४–२ को फराकिलो हार बेहोरेको थियो।
प्रकाशित: १० मंसिर २०८१ २०:१४ सोमबार