६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

आइएसएफ जिम्नासाइड समर गेम्स: स्वस्तिका बक्सिङको फाइनलमा

नेपालकी युवा बक्सर स्वस्तिका तिरुवाले बहराइनमा जारी आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्।

मानामास्थित अल अहली क्लबमा सोमबार भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा ब्राजिलकी फरेरालाई स्तब्ध बनाउँदै स्वस्तिकाले स्वर्ण भिडन्त तय गरेकी हुन्। उनले फरेरालाई ५–० ले सहजै हराइन्। उनले स्वर्ण भिडन्तका लागि ब्राजिलकै बक्सर ओलिभिएरा प्रतिद्वन्द्वीका रूपमा पाएकी छन्। यी दुईबीच मंगलबार नै प्रतिस्पर्धा हुनेछ। पुरुष ४६ केजीमुनि भने नेपालका रोहित जनाला सेमिफाइनलमा पराजित भए। उनी अर्मेनियाका किराकोस्यानसँग ५–० ले पराजित भएका हुन्। पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पाले पनि मंगलबारै फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरविरुद्ध प्रतिस्पर्धा गर्दै छन्।

यससँगै बक्सिङमा नेपालको कम्तीमा दुई रजतसहित तीन पदक पक्का भएको छ। नेपालबाट पाँच बक्सरले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये पुरुष ६३ केजीमुनि नेपालका युनिक राई मात्र पदकविहीन रहे। पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्यले पनि कांस्य निश्चित गरिसकेका छन्।

तेक्वान्दोकी निवितालाई कांस्य

तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन्। इसा स्पोर्ट्स सिटी हल ‘सी’ मा सोमबार भएको खेलमा निविताले पुम्सेमा कांस्य पदक जितेकी हुन्। उनले ६.४८२ अंक जोडिन्। यस विधामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते। भारतकी खेलाडी पनि तेस्रो भइन्। ग्यरोगीतर्पm भने नेपालको चुनौती पहिलो खेलमै समाप्त भयो। पुरुष ६८ केजीमुनि नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसँग २–० ले पराजित भए।

उनी पहिलो राउन्डमा १३–० ले पछि थिए। दोस्रो राउन्डमा पनि उनले ७–६ ले नतिजा सुम्पिए। विश्व तेक्वान्दो (डब्लुटी) ले यस प्रतियोगितालाई जी वान ¥याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य एवं आइएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जानकारी दिए।

टेबल टेनिसमा कमजोर

नेपाली टोली टेबलटेनिसको महिला टिम इभेन्टमा दशौं स्थानमा रह्यो। इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा नेपालले युगान्डालाई ४–१ को सेटमा हराउँदै दशौं स्थान प्राप्त गरेको हो। त्यसअघि नवौं स्थानका लागि भएको खेलमा भने नेपाल अजरबैजानसँग ४–१ ले पराजित भएको थियो। महिला टिम इभेन्टमा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा खेल्दैछन्। पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्नेछन्। सिंगल्सका खेल मंगलबारदेखि हुनेछ। ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन्। इसा स्पोर्ट्स सिटी हल ‘ड’ मा कविरले भारतका कायाउ तेतलाई २१–१ र २१–४ को सोझो सेटमा सहजै हराए।

भारतमाथि नेपालको जित

पुरुष थ्री बाइ थ्री बास्केटबलमा नेपाल थ्रीले भारत टुलाई सोमबार पराजित गरेको छ।

इसा स्पोर्ट्स सिटी आउटडोरमा भएको खेलमा नेपाल थ्रीले भारत टुलाई २१–९ ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा इटालीले नेपाल थ्रीलाई ८–६ ले हराएको थियो। नेपाल थ्रीले लिगको अन्तिम दिन मंगलबार नर्थ मेसेडोनिया, ब्राजिल र मालावीसँग खेल्नेछ। नेपाल फोर भने घरेलु टोली बहराइन वानसँग १७–८ र चिलीसँग १२–९ ले चुक्यो। मंगलबारै नेपाल फोरले बहराइन सिक्स र टु तथा क्रोएसियासँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमसुन्दर होनाले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८१ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App