७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

कैलाश स्मृति फुटबल: सप्तरीलाई हराउँदै दमौटी सेमिफाइनलमा

<br>

सदरमुकाम त्रियुगा नगरपालिका-४ बगाहामा जारी ‘दोस्रो स्वर्गीय युवराज (कैलाश) राई फुटबल प्रतियोगिता ०८१’ को चौथो खेलमा दमौटी फुटबल क्लब विजयी भएको छ।

मंगलबार सम्पन्न खेलमा त्रियुगा-५ दमौटी सप्तरीको नवबुद्ध क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

मध्यान्तरसम्मको खेल बराबरीमा सकिएपछि मध्यान्तरपछिको १८ औं मिनेटमा दमौटीका क्याप्टेन पविन राईले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

२५ औँ मिनेटमा अर्का खेलाडी प्रताप राईको प्रहार गोलमा परिणत भएसँगै दमौटीले सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो।

खेलको म्यान अफ द म्याच दमौटीकै प्रताप राई भए। उनलाई एक हजार नगदसहित फ्लेक्स र मेडल प्रदान गरियो।

यो सँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ। बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सगरमाथा फुटबल क्लब त्रियुगा-८ राजावास र चौदण्डीगढी नगरपालिका-७ बेल्टारको एकता युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

स्थानीय फुटबल खेलाडी कैलाश राईको स्मृतिमा परिवार र बगाहा युवा समूहले आयोजना गर्दै आएको प्रतियोगिताको फाइनल खेल १० गते हुनेछ। विजेता टिमले ट्रफि सहित नगर ५१ हजार र उपविजेताले मेडल र प्रमाणपत्रसहित ३१ हजार नगद प्राप्त गर्ने आयोजक समूहले जनाएको छ।

उदयपुर, सप्तरी, सिराहा र सिन्धुलीका गरी ८ वटा समूहको सहभागिता रहेको प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको समन्वयमा आयोजना गरिएको हो।

उता कटारीमा ‘तेस्रो गवुवा नकआउट फुटबल प्रतियोगिता ०८१’ सोमबारदेखि सुरु भएको छ।

कटारी नगरपालिका-४ स्थित गबुवामा सोमबारदेखि सुरु भएको उद्घाटन खेलमा कटारी-२ को गुराँस फुटबल क्लबले विजयी यात्रा प्रारम्भ गरेको छ।

गत वर्षको उपाधि विजेता गुराँसले सिन्धुलीको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीलाई १–० गोलको अन्तरले पराजित गर्दै विजयी यात्रा प्रारम्भ गरेको हो।

खेलको मध्यान्तरपछिको खेलमा गुराँसका लागि विवश देवकोटाले गरेको गोल नै खेलको निर्णायक बन्दै विजयी गराएको हो। खेलको म्यान अफ द म्याच गुराँसकै युवराज राई घोषित भए। उनलाई क्लबका अध्यक्ष अभिषेक विश्वकर्माले पुरस्कार प्रदान गरे।

गबुवा स्पोर्टस क्लबको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन कटारी नगरप्रमुख  राजेशचन्द्र श्रेष्ठले गरेका थिए। सो अवसरमा मेयर श्रेष्ठले गबुवाका युवाहरू फुटबल लगायत सामाजिक काममा क्रियाशील भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १० समूहको सहभागिता रहेको छ। विजेता टिमले नगद ७७ हजार ७ सय ७ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप-विजेतालाई ५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष विश्वकर्माले बताए। 

प्रकाशित: ६ कार्तिक २०८१ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App