४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसिसी विश्वकप लिग- २ : नेपालले ओमानसँग खेल्दै

आइसिसी विश्वकप लिग टु अन्तर्गत आफ्नो दास्रो सिरिजको दोस्रो खेलमा नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।  

पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको नेपाल बुधबार भने सुखद् नतिजाको खोजीमा हुनेछ । यद्यपि ओमानसँगको पछिल्ला खेलमा भने नेपाल सम्हालिएर खेलिरहेको छ । संख्यातमक हिसावमा ओमानले बढी खेल जितेपनि ओमानविरुद्ध हात पारेका जितमा नेपालको प्रदर्शन उल्लेख्य हुँदै आएका छन् ।  

एकदिवसीय क्रिकेटका ७ स्पर्धामा नेपालले ३ खेलमा जित निकाल्दा ओमानले ४ खेलमा बाजी मारेको थियो । अघिल्लो संस्करणको लिग टूमा ओमान दोस्रो र नेपाल तेस्रो भएका थिए । नेपाल र ओमानबीच भएका ६ खेलमा नेपालले २ खेलमा मात्र जित निकालेको थियो ।  

कीर्तिपुरमा भएको पछिल्लो एकदिवसीय खेलमा भने नेपालले ओमानलाई ८४ रनले हराएको थियो । उक्त खेलमा नेपालले ओमानविरुद्ध बनाएको ३१० रनको योगफल अहिलेसम्म नेपालले एकै इनिङ्समा बनाएको सर्वाधिक रन हो ।  

जारी लिग टूमा ओमान ३ अंकमा छैठौं र नेपाल २ अंकमा सातौं स्थानमा रहेका छन् । यद्यपि ओमानले नेपालले भन्दा एक खेल कम ४ खेल खेलेको छ ।  

जारी लिगमा नेपालले नेदरल्यान्डस्लाई एक खेलमा पराजित गर्न बाहेक अन्य खेल जित्न सकेको छैन । डच टोलीसँगको दोस्रो खेल, ओमानसँगको दुवै खेल र क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ  ।  

अर्कोतर्फ ओमानले भने स्कटल्यान्डसँगको पहिलो खेलमा अंक बाँडेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । जारी लिग टूमा नामिबियासँग एक खेलमा जित र एकमा हार भोगेको थियो । बुधबार नेपालविरुद्ध जित निकाल्दै ओमान क्यानडा यात्रामा सुखद् सुरुवात गर्ने योजनामा हुनेछ । 

प्रकाशित: २ आश्विन २०८१ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App