५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रियालाई एसिया ट्रायल मास्टरमा स्वर्ण

नेपालकी प्रिया राईले मलेसियामा सम्पन्न एसिया ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन्।

प्रियाले मलेसियाको सबाहमा भएको एसिया ट्रायल मास्टर च्याम्पियनसिप फाइनलको महिला ७८ किलोमिटरमा स्वर्ण जितेकी हुन्। उनले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा दूरी पार गरिन्। 

यसै स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन्। उनले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ९ सेकेन्ड समय खर्चिन्। नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२औं स्थानमा रहे। यस विधामा ३५ खेलाडीले प्रतिस्पर्धा गरे।

यसै विधाको पुरुषमा अर्जुन कुलुङ राई दशौं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२औं र मिलन राईले २७औं स्थानमा रहे। ४५ धावकले प्रतिस्पर्धा गरेको यस विधामा नेपालका चार खेलाडीको चुनौती रह्यो। 

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको बताए। नेपाली टोली असोज १ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: ३१ भाद्र २०८१ ०६:४२ सोमबार

#Priya Rai