२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

अल्झिएको ओलम्पिक बक्सिङ

मोहम्मद अली, फ्लोयड मेवेदर र लेनोक्स लुइसजस्ता महान् बक्सरले ओलम्पिकबाटै इतिहासमा आफ्नो नमेटिने छाप बनाएका थिए।

नयाँ पुस्ताका बक्सर पेरिसमा यिनै खेलाडीको पदचिह्न पछ्याउन आतुर छन्। तर, यो खेल ओलम्पिकमा रहिरहने हो या होइन भन्ने गम्भीर प्रश्न उठेको छ। बक्सिङले सन् १९०४ मा आधुनिक ओलम्पिकमा डेब्यु गरेको थियो। सन् १९१२ मा स्विडेनको राजधानी स्टकहोममा भएको ओलम्पिकबाहेक हरेक प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। तर, प्रशासन, वित्तीय र नैतिक मुद्दाहरूको चिन्ताका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सन् २०१९ मा अन्तर्राष्ट्रिय बक्सिङ संघलाई निलम्बन गरेको थियो। संघ निलम्बित भएपछि टोकियो ओलम्पिकमा आइओसीले बक्सिङ आफ्नै निगरानीमा आयोजना गर्‍यो। तर, गत वर्ष आइओसीले गभर्निङ बडीको मान्यता फिर्ता दिएको छ।

आइओसीले फेरि एक पटक फ्रान्सको राजधानीमा बक्सिङ आयोजना गर्दै छ। उसले अर्को वर्षसम्म संघलाई व्यवस्थित गर्न समय दिएको छ। अन्यथा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकबाट बक्सिङ बाहिरिने खतरामा छ।

यो अनिश्चित पृष्ठभूमिका बावजुद लगभग २५० बक्सर पेरिस ओलम्पिकमा भिड्दै छन्। पहिलोपल्ट पुरुष र महिलाबीच समान सहभागिता हुँदै प्रतिस्पर्धा हुन लागेको बक्सिङका खेल जुलाई २६ देखि अगस्ट १० का बीच हुनेछन्, जुन ओलम्पिकको अन्तिम दिन हो।

महिला बक्सिङले सन् २०१२ मा लन्डन ओलम्पिकमा तीनवटा तौलसमूहमा डेब्यु गरेको थियो। तर, पेरिसमा ६ वटा तौलसमूहमा प्रतिस्पर्धा हुनेछन्, जसले खेलको विकासलाई प्रतिबिम्बित गर्दछ। यसपल्ट सहरको बाहिरी भागमा रहेको नर्थ पेरिस एरिना र फ्रेन्च ओपन टेनिसको घरका रूपमा चिनिने रोलान्ड गारोस कोर्टमा बक्सिङको प्रतिस्पर्धा हुनेछ।

टोकियो ओलम्पिकमा लाइटवेटमा स्वर्ण जितेकी आयरल्यान्डकी केली ह्यारिङ्टनले महिलातर्फको पुनः आफ्नो दाबेदारी प्रस्तुत गर्नेछिन्। उनले पछिल्ला तीन वर्षसम्म बक्सिङमा आफ्नो प्रभुत्व जमाएकी थिइन्। तर, गत अप्रिलमा उनी युरोपियन एलिट च्याम्पियनसिपको सेमिफाइनलमा सर्बियाकी नतालिया सड्रिनासँग पराजित भइन्। टोकियो ओलम्पिकमा स्वर्ण जितेपछि उनी एकाएक चर्चाको शिखरमा पुगेकी थिइन्। त्यसयता उनलाई त्यो सफलता दोहो¥याउन दबाब बढेको छ।

३४ वर्षीय ह्यारिङ्टनले हालै आयरल्यान्डका सञ्चारमाध्यमसँग भनेकी थिइन्, ‘यो सबैभन्दा ठूलो खेलाडी हुनुले होइन, पदक ल्याएको कुराले पनि होइन। तर, म स्वर्ण जित्न पेरिस जाँदै छु। मैले यसैको लागि मिहिनेत गरेको छु।’ क्यामरुनमा जन्मिएकी तर ११ वर्षको उमेरमा बेलायत आएकी सिन्डी नगाम्बा पनि महिलातर्फको प्रतिस्पर्धामा सहभागी हुनेछिन्। पुरुषतर्फ ओलम्पिक च्याम्पियन, व्यावसायिक अनुभव भएका र उदीयमान बक्सरले आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन्।

अली, मेवेदर, जर्ज फोरम्यान, रोय जोन्स जुनियर र इभान्डर होलिफिल्डजस्ता बक्सर जन्माएको अमेरिका ओलम्पिकमा इतिहासकै सबैभन्दा सफल राष्ट्र हो। तर, सन् २००४ मा विश्व च्याम्पियन बनेका आन्द्रे वार्डले ओलम्पिकमा स्वर्ण पदक जित्न सकेनन् । त्यो खडेरी अन्त्य गर्ने यसपल्ट अमेरिकाको नेतृत्व गरेका छन्, २१ वर्षीय फेदरवेट जाहमल हार्वेले। क्युबा हेभिवेटकको अर्को दाबेदार राष्ट्र हो । अर्लेन लोपेज र जुलियो सेजर ला क्रुज स्वर्णका दाबेदार हुन्। उनीहरू तेस्रोपल्ट स्वर्ण जित्ने प्रयासमा छन्।

ओलम्पिकको इतिहासमा अहिलेसम्म हंगेरीका लाज्लो पप, क्युबाका टोफिलो स्टिभेन्सन र फेलिक्स साभोनले व्यक्तिगत प्रतिस्पर्धीतर्फ बक्सिङमा सर्वाधिक तीन स्वर्ण जित्न सफल भएका छन्। महिला र पुरुष दुवैतर्फ अर्को पावरहाउस हो बेलायत।

बेलायताका एन्थोनी जोसुआले प्रो र हेभिवेट विश्व च्याम्पियन बन्नुअघि सन् २०१२ मा घरेलु भूमिमा स्वर्ण जितेका थिए। २७ वर्षीय सुपर हेभिवेट डेलिसियस ओरीमाथि बेलायतले ठूलो आशा राखेको छ, जसलाई अर्को सम्भावित जोसुआको उताराधिकारीका रूपमा लिइने गरिन्छ।

ओरीले एकपल्ट भनेका थिए, ‘कोहीकोहीले म नयाँ एन्थोनी हुँ भन्छन्। तर, एक दिन म उनीभन्दा अझ राम्रो हुने र बक्सिङमा प्रभुत्व जमाउने लक्ष्य राख्छु।’ वासिम अबु साल वाइल्डकार्ड प्राप्त गरेपछि ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो प्यालेस्टाइनी बक्सर हुनेछन्। १० वर्षको उमेरदेखि नै उनको सपना ओलम्पिकमा समहभागिता जनाउने थियो। यसपल्ट त्यो सपना साकार भएपछि उनी दंग छन्। ‘हरेक दिन ओलम्पिकमा पुग्ने लक्ष्यसाथ म मिहिनेत गर्थें। त्यो अहिले पूरा भएको छ,’ उनले भने।

प्रकाशित: ११ श्रावण २०८१ ०७:४१ शुक्रबार