१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रंगभेदी दुर्व्यवहार गर्नेलाई तीन वर्षपछि जवाफ

युरो कपअन्तर्गत शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेपछि फरवार्ड बुकायो साकाले मध्यभागनजिकै घुँडा टेके र आकाशतिर फर्किएर हेर। इङ्ल्यान्डका अन्य खेलाडी विजयी पेनाल्टी प्रहार गरेका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र जोर्डन पिकफोर्डसँग खुसी साट्न गोलपोस्टतर्फ दौडिरहेका थिए।

साका एक्लै बसे। सायद उनी जितको स्वाद एक्लै चाख्न चाहन्थे। सन् २०२१ मा वेम्बली रंगशालामा भएको युरो कप फाइनलमा इटालीविरुद्ध उनले निर्णायक पेनाल्टी प्रहार गरेका थिए । कप्तान ह्यारी केन र ह्यारी मग्वायरले सुरुका दुई प्रहारमा गोल गरेका थिए। तर, मार्कुस रसफोर्डको प्रहार बारमा लागेर बाहिरियो भने साका र जाडोन सान्चोको प्रहार इटालीयन गोलरक्षक जियानलुगी डोनारुम्माले बचाए। त्यसपछि सामाजिक सन्जालमा उनीहरूमाथि रंगभेदी दुर्व्यवहार गरिएको थियो।

त्यस बेला साका मात्र १९ वर्षका थिए, इङ्ल्यान्ड टोलीमा सबैभन्दा कान्छा खेलाडी । यी खेलाडीले इटालीसँगको हारभन्दा पहिलेका खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै फुटबल समर्थकले वाहवाही नै गरेका थिए। तर, उक्त पेनाल्टीमा चुकेपछि एक खेलअगाडि हिरो भएका उनी एक्कासि जिरोमा झर्न पुगे। त्यसको तीन वर्षपछि साकाले मध्यभागबाट पेनाल्टी स्पटसम्म लामो र एक्लो पैदल यात्रा तय गरे। स्विट्जरल्यान्डविरुद्ध इङ्ल्यान्डको पेनाल्टी सुटआउटको तेस्रो किक उनले लिएका थिए।

यस पटक उनले नेटको तल्लो कुनामा प्रहार गरेको बल यान सोमरले बचाउन सकेनन् र गोलमा परिणत भयो । गोल गरेसँगै उनले आफ्नो कान समातेर उत्सव मनाए। इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउन उनले नै निर्णायक गोल गरेका थिए। ड्युसेलडोर्फ एरिनामा ७५औं मिनेटमा ब्रिल एम्बोलोको गोलमार्फत स्विट्जरल्यान्डले सुरुआती अग्रता लिएको थियो।

 तर, त्यसको पाँच मिनेटपछि नै डेक्लान राइसको पासमा साकाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

उक्त अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल सुटआउटमा पुगेको थियो । उक्त सुटआउटमा स्विट्जरल्यान्डका म्यानुअल अकान्जीले सुरुआती प्रहारलाई सदुपयोग गर्न नसकेपछि इङ्ल्यान्ड खेलमा ५–३ ले विजयी भयो।

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले उनको बचाउ गर्दै भने, ‘प्रतिक्रिया दिन कठिन छ। फेरि पेनाल्टी लिँदा म आफैंले उनीमाथि विश्वास गरेको थिएँ । बललाई उनले जाली चुमाउँदा म धेरै खुसी भएँ।’ सन् २०२१ को जुलाईमा भएको त्यो घटनाबाट पुनरागमन गर्न निक्कै कठिन भएको अनुभव उनी सुनाउँछन्।

तर, यसले नै आफूलाई सुधार गर्दै राम्रो प्रदर्शन गर्न प्रेरणा दिएको उनको भनाइ छ। स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी लिँदा इटालीविरुद्धको खेलमा गरेको गल्ती आफूले नसम्झिएको उनले बताए। ‘जे नहुनु थियो, त्यो भइसकेको थियो। त्यसैले अतीतमा मेरो ध्यान थिएन। मैले पेनाल्टी लिँदा धेरै समर्थक र परिवार नर्भससाथ हेरिरहेका थिए । तर, मैले आफूलाई कुल राखें र गोल गरें,’ उनले भने।

साकाले समूहचरणमा जुड बेलिङ्घमका लागि एक गोल गर्न सहयोगी भूमिका निर्वाह गरेका थिए। त्यसैले स्विट्जरल्यान्डविरुद्धको त्यो महत्त्वपूर्ण गोल नै उनको यो प्रतियोगिताको पहिलो थियो।

इङ्ल्यान्डले लगातार दोस्रो पटक फाइनल प्रवेश गर्न बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्सले अन्तिम आठमा टर्कीलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो। डर्टमन्डमा हुने उक्त खेल र बर्लिनमा हुने फाइनल खेल जित्ने लक्ष्य आफ्नो टोलीको रहेको साका बताउँछन्।

‘अब दुई खेल बाँकी छ । यी खेल जित्न सके इतिहास पनि बन्नेछ, जुन अहिलेसम्म बनेको छैन। हामी अहिले त्यसैमा केन्द्रित छौं । आजको रात रमाइलो गर्छौं र अर्को खेलमा केन्द्रित हुनेछौँ,’ उनले भने।

प्रकाशित: २४ असार २०८१ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App