१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कप २०२४ : गाक्पो र गुलेरबीचको प्रतिस्पर्धा

कोडी गाक्पो र आर्दा गुलरले क्लबमा यसपल्ट निराशाजनक सिजन बिताएका थिए, तर शनिबार बर्लिनमा युरो कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्कीले एकअर्काको सामना गर्दा दुवैले आफूलाई आफ्नो टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गर्न सफल भएका छन्।

लिभरपुलका २५ वर्षीय लेफ्ट विंगर गाक्पोले युरो कपका चार खेलमा तीन गोल गरिसकेका छन्। टर्कीसँग हुने अन्तिम आठको खेलमा पनि उनले यही लय समात्नेमा टोली आशावादी देखिन्छ।

रोनाल्ड कोम्यान, रुड गुलिट, फ्रान्क रिजकार्ड र मार्को भान बास्टेनजस्ता खेलाडी सम्मिलित नेदरल्यान्ड्सले सन् १९८८ मा पश्चिम जर्मनीमा आयोजित युरो कप जितेको थियो। फाइनलमा सोभियत युनियनलाई २-० गोलअन्तरले पराजित गर्दै जितेको यो नै नेदरल्यान्ड्सको पहिलो र अन्तिम उपाधि हो।

ती पूर्वखेलाडीझैँ गाक्पो यस पटक टोलीका मुख्य खेलाडी हुन्। नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय पूर्वखेलाडी पियरे भान हुइजडोन्कले डच च्यानल एनओएससँग भने, ‘गाक्पो हाम्रा स्टार हुन्।’

एनफिल्डमा इजिप्टका फरवार्ड मोहम्मद सालाहको छायामा परेका गाक्पो जर्मनीमा लेफ्ट विंगरबाट निरन्तर आक्रमण बुनिरहेका छन्। उनले आफ्नो देशका लागि १२ गोल गरिसकेका छन्। त्यसमध्ये आधा गोल मुख्य प्रतियोगितामै गरेका हुन्। उनले दुई वर्षअघि कतारमा आयोजना भएको विश्वकपमा पनि नेदरल्यान्ड्सका लागि तीन गोल गरेका थिए।

‘उनी एक प्रतिभावान् खेलाडी हुन्,’ कोम्यानले भने, ‘हाम्रा लागि उनी निकै महŒवपूर्ण छन्।’

गाक्पोको पदचापमा रियल मड्रिडका अट्याकिङ मिडफिल्डर गुलर पनि छन्। स्पेनिस क्लबमा खेल्दा उनी महिनौंसम्म चोटबाट गुज्रिरहे। यता, स्पेनिस राजधानीमा उनले मौका पाउन पनि निकै संघर्ष गर्नुपर्‍यो। त्यसैले गुलरले सिजनको अन्तिम हप्तामा मात्रै केही खेलमा मैदान उत्रिने मौका प्राप्त गरेका थिए।

ला लिगा उपाधि जितेसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले गुलरलाई रिलिज गरेका थिए। त्यसैले उनले युरो कपको तयारी गर्ने पर्याप्त समय पाए। टर्कीको रोमाञ्चक पहिलो जितमा जर्जियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका १९ वर्षीय गुलरले अन्तिम १६ को खेलमा अस्ट्रियाविरुद्ध २-१ गोलअन्तरको जित हासिल गर्दा उनले दुवै असिस्ट गरेका थिए।

टर्कीका मुख्य प्रशिक्षक भिन्सेन्जो मोन्टेला भन्छन्, ‘उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। आफ्नो करिअरमा पहिले कहिल्यै नगरेकोजस्तो प्रदर्शन गर्दा मलाई गर्व लाग्छ।’

टर्की सन् २००८ यता कुनै पनि ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो चोटि हो। कप्तान हाकान कालहानोग्लु र डिफेन्डर सामेट अकायदिन एक खेलको निलम्बनपछि टोलीमा फर्किएका छन्। त्यसैले यो टोलीले नेदरल्यान्ड्सलाई अन्तिम आठमा टक्कर दिने अपेक्षा गर्न सकिन्छ।

ओलम्पियास्टेडियन टर्कीको घरेलु मैदानजस्तै हो। त्यसैले नेदरल्यान्ड्सका लागि यो ‘अवे म्याच’ हुनेछ। अस्ट्रियाविरुद्ध गोल गरेपछि ‘ग्रे वुल्भ्स’ भनिने अति दक्षिण चरमपन्थी समूहसँग सम्बन्धित चिह्न देखाएर उत्सव मनाएको भन्दै डिफेन्डर मेरिह डेमिरलमाथि युइएफएले अनुसन्धान गरिरहेको छ। त्यसैले उनीमाथि प्रतिबन्ध लागेको छ।

टर्कीका लागि अस्ट्रियाविरुद्ध दुवै गोल गरेका उनी टोलीमा नहुनुले नेदरल्यान्ड्सलाई अवश्य नै फाइदा हुनेछ। ओर्कुन कोक्कु र इस्माइल युक्सेक पनि यसअघि नै प्रतिबन्धमा छन्।

यसका विपरीत नेदरल्यान्ड्सको टोली पूर्ण पूरक उपलब्ध छ। कोम्यानले समूहचरणको अन्तिम खेलमा अस्ट्रियासँग ३-२ को हारपछि आफ्नो टोलीलाई रिकभर गर्ने प्रयास गरेका छन्। गाक्पो र मालेनको गोलसँगै रोमानियालाई ३-० ले पराजित गरेपछि ३६ वर्षअघि टोलीको कप्तानी गरेका कोम्यानले नेदरल्यान्ड्स फाइनल पुग्न सक्षम रहेको टोलीका रूपमा हेरेका छन्।

बार्सिलोनाका पूर्वप्रशिक्षक भन्छन्, ‘यो हाम्रो स्तर हो। यदि योभन्दा तल हामी झर्‍यौं भने फाइनलमा पुग्न सक्दैनौं। गाक्पोले अझै सुधार गर्छन् भन्ने आशा छ।’ यदि नेदरल्यान्ड्सले टर्कीको चुनौती पार गर्न सक्यो भने सेमिफाइनलमा इङ्ल्यान्ड वा स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्ने छ। –एएफपी 

प्रकाशित: २२ असार २०८१ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App