२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

गल्फर सद्भाव आचार्य अमेरिका प्रस्थान

नेपाल नम्बर ‘वान’ एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

सद्भावले १२४औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

१८ वर्षीय सद्भावले युनाइटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताका लागि विशेष निमन्त्रणा पाएका हुन्। उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन्।

सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फरसमेत बन्नेछन्। १२४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ।

यसै गरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउनेछन्।

अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपिएस सग्रसको द प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन्।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदारमध्येका एक खेलाडी भएकाले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा दिएको नेपाल गल्फ संघले जनाएको छ।  

दुई प्रतियोगितामा सहभागितासँगै उनले अमेरिकामा विशेष प्रशिक्षण गर्नेछन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिनेछन्।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। 

उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन्।

उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन्। सद्भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै सद्भावलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गरे।

नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभई सिंगो राष्ट्रका लागि गर्वको कुरा भएको बताए।

प्रकाशित: २१ असार २०८१ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App