१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रदीप र सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी

क्रिकेटर अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पोखरा स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड-२०८० मा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।

नेपाल क्रिकेट टिमका उदाउँदा ब्याटर तथा यु-१९ क्रिकेटका भर पर्दा खेलाडी अर्जुनले मनोनयनमा परेका प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

त्यस्तै, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले नोमिनेसनमा परेका आर्चरीकी अनुष्का शेरचन र भलिबलकी अरूणा शाहीलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितिन्। अर्जुन र सुस्मिताले ट्रफीसहित टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर एकएक थान प्राप्त गरे।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाले जितिन्। उनले क्रिकेटकी ज्योत्स्निका मरासिनी र एथलेटिक्सकी बादल कार्कीलाई पछि पार्दै अवार्ड जितेकी हुन्। सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा भलिबलका रमेश केसीले अवार्ड जिते। उनले टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजुलाई पछि पार्दै अवार्ड जितेका हुन्।

सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्‍यो। २०५५ सालमा स्थापित सहारा क्लबले बर्सेनि आहा! रारा पोखरा गोल्डकप गर्दै आएको छ। सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लबतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५/३५ हजारसहित ट्रफी प्राप्त गरे।

मञ्चले यस वर्ष ओलम्पियन नारायण गुरुङ र अन्तर्राष्ट्रिय वरीयता प्राप्त टेनिस खेलाडी अभिषेक बास्तोलालाई विशेष अवार्ड अर्पण गर्‍यो। यसैबीच, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड रोहितराज पराजुलीले प्राप्त गरे। रेडियो वाराहीबाट पत्रकारिता जीवन सुरु गरेका पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, रूपा गाउँपालिका प्रमुख नवराज ओझा, मञ्चका अध्यक्ष दीननाथ बराल, टेलजी कम्पनीका सञ्जीव शिल्पकारलगायतले अवार्ड वितरण गरेका थिए।

इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्सकी इन्द्राकुमारी मल्ललाई अर्पण गरेको छ। एथलेटिक्स खेलमा चार दशक गुजारेकी मल्ललाई यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो।

पोखरा स्पोर्ट्स अवार्डको आठौं संस्करणसम्ममा लाइफटाइम अचिभमेन्ट अवार्ड पाउने उनी पहिलो महिला खेलाडी बनेकी छन्।

प्रकाशित: २९ वैशाख २०८१ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App