२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आईपीएलमा पञ्जाब र कोलकोत्ताको विजयी सुरुआत

शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।

घरेलु मैदान महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार दिल्ली क्यापिटल्समाथि चार विकेटको जित निकाल्दै पन्जाबले यस संस्करणमा सुखद सुरुआत गरेको हो। शुक्रबारदेखि सुरु यस संस्करणको आइपिएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स  बैङ्लोरलाई ६ विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो।  

यस सिजनको दोस्रो खेलमा दिल्लीले दिएको १७५ रनको लक्ष्य पन्जाबले १९.२ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। पन्जाबका साम करनले ४७ बलमा ६३ रन जोड्दै जित दिलाए। उनको इनिङमा ६ चौका र एक छक्का रह्यो। उनी म्यान अफ दी म्याचसमेत भए।

लियम लिभिङ्स्टन ३८ रनमा अविजित रहँदा प्रभसिमरन सिंहले २६ रन र कप्तान तथा ओपनर शिखरले २२ रन बनाए। छैटौं विकेटका लागि करन र लिभिङ्स्टनबीच ६७ रनको साझेदारी भयो।

दिल्लीको बलिङमा खलिल अहमद र कुलदीप यादवले समान दुई तथा ईशान्त शर्माले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ७४ रनको राम्रो योगफल तयार पार्‍यो।

तर, ऋषभ पन्तको कप्तानीमा रहेको दिल्लीले बलिङमा साथ पाउन सकेन र हारबाट यस सिजनको सुरुआत गर्‍यो। दिल्लीका साई होपले ३३ रन जोड्दा अभिषेक पोरेल ३२ रनमा नटआउट रहे। डेविड वार्नरले २९ रन, अक्षर पटेलले २१, मिचेल मार्सले २० र कप्तान ऋषभ पन्तले १८ रन बनाए।

पहिलो विकेटका लागि वार्नर र मार्सले ३९ रनको साझेदारी गरे। पन्जाबको बलिङमा अर्शदीप सिंह र हर्षल पटेलले समान दुई तथा हरप्रीत बरार, कागिसो राबडा र राहुल चहरले समान एक विकेट लिए।

यसैबीच, राति नै भएको अर्को खेलमा कोलकोत्ता नाइट राइडर्सले पनि विजयी सुरुआत गरेको छ। कोलकोत्तास्थित इडेन गार्डेनमा भएको खेलमा कोलकोत्ताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्‍यो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको कोलकोत्ताले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा २०८ रन बनायो। २०९ रनको लक्ष्यसहित मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो। –एजेन्सी

प्रकाशित: ११ चैत्र २०८० ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App