खराब बलिङले निरन्तरता पाएसँगै नेपालले त्रिदेशीय टी– २० आइ शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि हार सामना गरेको छ।
खराब बलिङसँगै फिनिसिङमा पनि चुकेपछि नेपाल नेदरल्यान्ड्ससँग दुई रनको साँघुरो हार सामना गर्न बाध्य भएको हो। एकदिवसीय र ट्वान्टी– २० मा गरी घरेलु मैदानमा नेपालको यो लगातार पाँचौं हार हो। यसअघि नेपालले आइसिसी विश्वकप लिग–२ को पछिल्ला दुई खेल पनि गुमाएको थियो। आगामी जुनदेखि अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्ने आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप नेपालले त्रिदेशीय शृंखला खेलेको हो।
पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा पनि नेपालको बलिङ बिर्सनलायक रह्यो। बुधबार डच टोलीविरुद्ध पनि नेपालले सोही प्रदर्शन दोहोर्यायो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डच टोलीले मात्र चार विकेटको क्षतिमा १८५ रनको लक्ष्य दियो। जबाफमा नेपालले निर्धारित ओभर खेल्दै आठ विकेटको क्षतिमा १८२ रन मात्र बनाउन सक्यो। अन्तिम चार बलमा चार रन जोड्न नसक्दा नेपालले हार सामना गर्यो।
नेपाललाई जितका लागि डेथ ओभरमा १४ रन आवश्यक थियो। क्रिजमा थिए, लयमा रहेका दीपेन्द्रसिंह ऐरी। उनले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै घरेलु टोलीलाई जितनजिक पु¥याए। तर, तेस्रो बलमा दुई रन लिने चक्करमा करण केसी ११ रनमा रनआउट हुन पुगे। चौथो बलमा दीपेन्द्रसिंह ऐरी पनि ६३ रनमा बोल्ड भएसँगै नेपालले ठूलो झड्का पायो।
त्यसपछि क्रिजमा रहेका प्रतीश जिसी दुई बलमा एक रन मात्र जोडेपछि नेपाल साँघुरो हार बेहोर्न बाध्य भयो। दीपेन्द्र र कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए पनि नेपाल जित निकाल्न असफल रह्यो। दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्का हिर्काए। रोहितले ३६ बलमा ५० रन जोड्दा ६ चौका र दुई छक्का प्रहार गरे।
त्यसअघि नेपालले दोस्रो खेलमा पनि खराब सुरुआत गर्यो। ओपनर कुशल भुर्तेल खाता नखोल्दै आउट भए। उनी नामिबियासँग पनि शून्यमा नै आउट भएका थिए। अर्का ओपनर आसिफ सेख र कप्तान रोहितले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। नवौं ओभरमा आसिफ ३४ रनमा पभेलियन फर्किए। त्यसपछि आएका कुशल मल्ल पनि ११ रनमा नै आउट भए। तर, एक छेउबाट दीपेन्द्रले इनिङ अगाडि बढाए। यद्यपि, उनले साथ पाउन सकेनन्। उनले अन्तिम ओभरमा ठूला सट खेल्दै जितलाई सम्भव बनाए पनि चुके।
तीन ओभरमा नेपालले ४५ रन जोडेको थियो। डच टोलीको बलिङमा साइब्रान्ड एंगलबेक्ट र रोइलफ भान डेर मेर्वीले दुई विकेट लिँदा भिभियन किङ्मा, टिम भान डेर र आर्यन दत्तको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल बनायो। नेदरल्यान्ड््सका माइकल लेभितले अर्धशतक प्रहार गरे। उनले ३६ बलमा ५४ रन जोडे। उनको इनिङमा पाँच चौका र तीन छक्का रह्यो। अन्तर्राष्ट्रिय ट्वान्टी– २० मा उनको यो डेब्यु पनि हो।
साइब्रान्ड ४९ रनमा नटआउट रहे। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ दी म्याच समेत भए। नेपालले तेस्रो ओभरको पहिलो बलमा ओपनर म्याक्स ओ डोउडलाई ४ रनमा आउट गर्दै राम्रो सुरुआत दिलायो। यद्यपि, डच टोलीले तीव्र गतिमा रन बटुल्दै नेपाली बलरमाथि दबाब बनाइरहे। कप्तान स्कट इड्वार्डसले ३३ रन र तेजा निदामानुरुले ३१ रन जोडेपछि डच टोलीले चुनौतीपूर्ण लक्ष्य बनायो। जुन नेपालले भेट्टाउन नै सकेन। अब नेपालले शुक्रबार नामिबियाको सामना गर्ने छ।
प्रकाशित: १७ फाल्गुन २०८० ०८:१२ बिहीबार