२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

बागमती गोल्डकपले नयाँ विजेता पाउँदै

प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तान।

मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन भइरहेको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदै छ।

प्रतियोगिताको फाइनल भिडन्तको तयारीमा रहेका मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ दुवैले उपाधि जित्ने दाबी गरेका छन्।

फाइनल अघि बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दाबी गरेका हुन्।

यस गोल्डकपमा यी दुई टोली पहिलो पटक फाइनलमा पुगेका हुन्। मच्छिन्द्रले न्युरोड टिम एनआरटीलाई र एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले एपिएफले भन्दा एक दिन बढी आराम पाएको र सोही अनुरुपको तयारी भएकोले उपाधि जित्ने दाबी गरे। 

आफ्नो टिममा नाम चलेका र शारीरिक रुपमा स्वस्थ रहेका खेलाडी भएकोले निर्धारित ९० मिनेटभित्रै गोल गर्दै उपाधि जित्ने योजना रहेको उनले सुनाए।

एपिएफका टिम म्यानेजर सुशील अधिकारीले करिब दुई हप्ता अघि मकवानपुरै भएको स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि समेत जितेको स्मरण गर्दै नयाँ र जोसिलो टिम भएकोले बागमती गोल्डकप जित्न कुनै समस्या नहुने बताए। आफूहरू जित्नकै लागि आएको भन्दै उनले सबै खेलाडीहरु शारीरिक रुपमा समेत तयार रहेको बताए।

मच्छिन्द्रका कप्तान उत्वव राईले यो पटक अट्याकिङ खेलेर उपाधि जित्ने लक्ष्य रहेको बताए। यो पटक विभिन्न तीनवटा गोल्डकपमा हार व्यर्होदाको दुःखलाई बागमती गोल्डकपको उपाधिले बिर्साउने उनको भनाई थियो। 

यता एपीएफका कप्तान मानबहादुर राना मगरले उपाधि जित्ने गरी मैदानमा प्रस्तुत हुने बताए। मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले बागमती गोल्डकप जित्न कुनै समस्या नहुने उनको भनाई थियो।

दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेका हुन्।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

फागुन १ गतेबाट भएको छैठौं संस्करणको बागमती गोल्डकपमा १० वटा टिमको सहभागिता रहेको थियो। बागमती गाउँपालिकाको मुख्य प्रायोजन एवम् बागमती खेलकुद विकास समितिको आयोजनामा गोल्डकप हुँदै आएको हो।

प्रकाशित: ९ फाल्गुन २०८० २०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App