२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

बलका लागि भिड्दै मच्छिन्द्र र एनआरटीका खेलाडी।

न्यूरोड टिम एनआरटीसँग सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी छैंठौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

सोमबार भएको पहिलो सेमिफाइनलमा एनआरटीलाई ५–१ गोलले हराउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा मच्छिन्द्रका लागि हिसुव थपलिया र विदेशी खेलाडी स्टेफन समिरले दुई/दुई तथा बिमल घर्ती मगरले एक गोल गरे। मच्छिन्द्रले खेलको नवौं मिनेटै अग्रता लिएको थियो। हिसुवको गोलमार्फत अग्रता लिएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा अग्रता दोब्बर पारे। दोस्रो हाफको पहिलो मिनेटमै स्टेफनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। ५९ औं मिनेटमा मच्छिन्द्रका लागि हिसुबले चौथो गोल गरे। ६० औं मिनेटमा एनआरटीका विदेशी खेलाडी सेवेले एक गोल फर्काए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्।

मच्छिन्द्रका लागि खेलको अतिरिक्त समयको पहिलो मिनेटमा विमल घर्ती मगरले अन्तिम गोल गरे। खेलको म्यान अफ द म्याच मच्छिन्द्रका थपलिया घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। मच्छिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबको विजेतासँग खेल्नेछ। यी दुई टोलीबीचको दोस्रो सेमिफाइनल मंगलबार हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। बागमती गाउँपालिकाको मुख्य सहयोगमा बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्दै आएको हो। फागुन १ गतेबाट सुरु भएको बागमती गोल्डकपमा १० वटा टिमको सहभागिता रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०८० १९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App