२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा भएको पोखरा अन्र्तराष्ट्रिय म्याराथनको १८औं संस्करणमा ४२.१९५ किलोमिटरको दुरी २ घन्टा १९ मिनेट ३६ सेकेन्डमा पार गर्दै जुलियास प्रथम भएका हुन्। उनले नगद ५ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा केन्याली धावक इसाक किहारा कमिरी २ घन्टा २० मिनेट ०५ सेकेन्डमा उक्त दुरी पार गर्दै दोस्रा भए भने उनीभन्दा ४० सेकेन्ड बढी समयमा सो दुरी पार गरेका केन्याली धावक एडविन किप्लागट तेस्रा भए। किप्लागटले २ घन्टा २० मिनेट ४५ सेकेन्डमा सो दुरी पार गरेका थिए।

द्वितीय हुने कमिरीले नगद ३ लाखसहित मेडल र प्रमाणपत्र तथा तृतीय हुने किप्लागटले नगद २ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने तीनैजना धावक केन्याली हुन्। १८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३१ विदेशीसहित १०८ जना धावकले सहभागिता जनाएकोमा केन्याली धावकले वर्चस्व जमाएका हुन्।

२ घन्टा २४ मिनेट ०२ सेकेन्डमा निर्धारित दुरी पार गरेका नेपालका किरण सिंह बोगटी चौथा बने। उनले सान्त्वनास्वरुप नगद ३० हजार प्राप्त गरे।

महिला हाफ म्याराथनको उपाधि सन्तोषीलाई

महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्। दक्षिण एसियाली म्याराथनको गोल्ड मेडलिस्ट सन्तोषीले निर्धारित २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट ३९ सकेन्डमा पार गर्दै उपाधि जितेकी हुन्।

सो स्पर्धामा राममाया बुढाले १ घन्टा १९ मिनेट २२ सेकेन्डमा पार गरेर दोस्रा हुँदा फुलमती राना १ घन्टा २१ मिनेट ०७ सेकेन्डमा पार गर्दै तेस्रा भइन्।

हाफ म्याराथनको उपाधि विजेता सन्तोषीले नगद १ लाख ५० हजार, द्वितीय भएकी राममायाले १ लाख र तृतीय भएकी फुलमतीले ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

१० किमि महिलातर्फको उपाधि आशा र पुरुषतर्फ टंक प्रथम

१० किलोमिटर महिलातर्फको उपाधि आशा रावतले जितेकी छन्। ४२.१६ मिनेट लगाएकी उनी प्रथम भएकी हुन्। सो स्पर्धामा ४२.२४ मिनेटमा दुरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४.२१ मिनेटमा दुरी पार गरेकी नम्रता गुरुङ तेस्रा भइन्। प्रथम भएकी रावतले ३० हजार, द्वितीय हुने चौधरीले २० हजार तृतीय भएकी गुरुङले १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

१० किलोमिटर पुरुष दौड प्रतियोगितामा त्रिभुवन आर्मीका टंकबहादुर कार्कीले ३१.३२ मिनेटमा पार गर्दै प्रथम भए। सो दुरी ३१.५४ मिनेटमा पार गरेका सुवास कार्की द्वितीय र ३३.३ मिनेटमा पार गरेका सञ्जीव नेपाली तृतीय भए।

प्रथम भएका कार्कीले ३० हजार, द्वितीय हुने सुवासले २० हजार तृतीय भएकी नेपालीले १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे। ५ किलोमिटर छात्रतर्फ २४.४० मिनेटमा दुरी पार गर्दै छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, तालवाराही माविकी गीता श्रेष्ठ द्वितीय र एञ्जिला जिटी तेस्रा भइन्।

५ किलोमिटर महिला भेट्रान दौडमा चित्रा गुरुङ प्रथम, विष्णुकुमारी गुरुङ द्वितीय र चेतमाया पंगेनी तृतीय भए। ५ किलोमिटर पुरुष भेट्रान दौडमा कपिल भट्ट प्रथम, आइलाल शाही द्वितीय र निमबहादुर थापा तृतीय भए।

५ किलोमिटर छात्र–छात्रा तथा भेट्रान दौडमा प्रथम हुनेले १५÷१५ हजार, दोस्राले १०÷१० र तेस्रा हुनेले ७÷७ हजार प्राप्त गरे।

प्रकाशित: ५ फाल्गुन २०८० १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App