२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ देशका १० हजार दौडिने

पोखरामा आगामी शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने प्रतियोगिताको यो १८ औं संस्करण हो।

प्रतियोगिताको तयारी पूरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको हो। प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गनेछन्।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगितामा गर्न लागेको बताए। उनका अनुसार विभिन्न ९ वटा ईभेन्टमा प्रतिष्पर्धा हुँदै।

प्रतियोगिताको मुख्य ईभेन्टका रुपमा खुल्ला म्याराथन आयोजना हुने अध्यक्ष पराजुलीले बताए। उनका अनुसार खुल्ला म्याराथनमा १४ देशका १०८ जना धावकले प्रतिस्पर्धा गर्दैछन्। सो ईभेन्टमा विदेशी ३१ जना खेलाडीले सहभागिता जनाउँदैछन्। 

जसमा युके ६, चीनका ५, केन्याका ४, बंगलादेश, जर्मनी र जापानका ३–३ जना तथा क्यानडा, फ्रान्स, हङकङ, भारत, साउदी अरब, ताईवान र अमेरिकाका १–१ जना प्रतिस्पर्धीका रुपमा अध्यक्ष पराजुलीले जानकारी दिए।

प्रतियोगिता अन्तर्गत महिलातर्फको हाफ म्याराथनमा १७ जना धावकहरुले प्रतिस्पर्धा गर्ने मञ्चले जनाएको छ। जसमा ५ जना विदेशी धाविका सहभागी उनका अनुसार यो ईभेन्टमा चीनका २, क्यानडा, केन्या र युकेका १–१ जना प्रतिस्पर्धीले सहभागिता जनाउँदैछन्।

प्रतियोगिता अन्तर्गत हुने खुल्ला पुरुष १० किलोमिटर पुरुष दौडमा ११ जना विदेशीसहित १२९ जना,  महिला १० किलोमिटर दौडमा ३ विदेशीसहित २९ जना, ५ किलोमिटर छात्र दौडमा ९९० जना, ५ किलोमिटर छात्रा दौड प्रतियोगितामा ४८६ जना प्रतिष्पर्धी दौडिने मञ्चले जनाएको छ। 

यसैगरी ५ किलोमिटर भेट्रान महिला दौडमा १० जना, ५ किलोमिटर भेट्रान पुरुष दौडमा १० जना सहभागि हुने अध्यक्ष पराजुलीले जानकारी दिए। यसबाहेक रन फर फनसहितका सबै ईभेन्टमा गरेर ८ हजारदेखि १० हजार जना दौडिने आयोजकको अनुमान छ। महिला तथा पुरुष ह्विल चेयर प्रतियोगिता र दृष्टिविहीन एक सय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता भने यसअघि नै भइसकेको छ।

मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित सहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने उद्देश्य रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताले आयोजक संस्थाहरुको छाता संगठन एम्सको सदस्यता पाइसकेकाले यस वर्षदेखि प्रतियोगितात्मक दौडमा सहभागि सबै खेलाडीमा चिप्सको प्रयोग गरिने भएको छ। यस वर्ष रनफर फनबाहेक सबै दौडमा चिप्सको प्रयोग गरिने पूर्व अध्यक्ष गुरुङले बताए।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुट यस वर्ष परिवर्तन गरिएको छ। यस वर्ष सहरी रुटलाई छोट्याएर ग्रामीण क्षेत्रका रुटमा धावकहरुलाई दौडाइने भएको हो। म्याराथनमा प्रथम हुनेलाई नगद ५ लाख, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख र चौथो हुनेलाई सान्त्वना स्वरुप ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ। सोही ईभेन्टको गण्डकीतर्फ प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए।

यसैगरी, महिलातर्फको हाफ म्याराथनको विजेतालाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप १५ हजार प्रदान गरिने उनले बताए। 

१० किमी पुरुष–महिला दौडमा प्रथमलाई ३०, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १५–१५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० र तेस्रो हुनेलाई ७–७ हजार प्रदान गरिने मञ्चले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App