५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अफगानिस्तानविरुद्ध नेपालको जित, ‘सुपर–सिक्स’ मा प्रवेश

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटमा नेपाल ‘सुपर–सिक्स’ मा प्रवेश गरेको छ।

आज समूह चरण अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग १ विकेटले जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

नेपालको जितमा बलिङतर्फ आकाश चन्दले पाँच विकेट लिँदा ब्याटिङमा कप्तान देव खनालले सुझबुझपूर्ण प्रदर्शन गर्दै ५८ रनको योगदान दिए।

इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान नेपालको धारिलो बलिङसामू निरीह हुँदै ४० ओभरमा १४५ रनमा रोकिएको थियो। जसमा आकाशले ८ ओभरमा ३४ रन खर्चिँदै ५ विकेट लिँदा दिपेश कँडेलले ८ ओभरमै १७ रन खर्चिएर २ विकेट लिएका छन्।

यस्तै गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक/एक विकेट लिए।  

ब्याटिङमा अफगानिस्तानका तर्फबाट एएम घाजनफरले ३७, कप्तान नसिर खानले ३१, फरिदून दाउदजाईले २९ र हसन एइसखिलले २० रन बनाए पनि अन्यले दोहोरो अंक जोड्न सकेनन्।

१४६ रन पछ्याएको नेपालको ब्याटिङ पनि सुरुवातदेखि नै दबाबमा रह्यो। सात ओभरभित्रै नेपालले भरोसा गरिएका अर्जुन कुमाल, विपीन रावल र अनुभवी गुल्सन झाको विकेट गुमाएको थियो। त्यतिबेला नेपाल २४–३ को स्थितिमा थियो।

त्यसपछि चौथो विकेटका लागि कप्तान देव र आकाश त्रिपाठीबीचमा ४९ रनको साझेदारीले नेपालको जितको सम्भावनालाई जीवित राखेको थियो। 

यसैक्रममा २४ औं ओभरको पहिलो बलमा टिमको स्कोर ७३ हुँदा आकाश १६ रनको व्यक्तिगत स्कोरका आउट भए। त्यसपछि नेपालले पाँचौं विकेट दीपक डुम्रे र छैठौं दिपेश कँडेल पनि नेपालले लगत्तै गुमाउँदा नेपाल फेरी दबाबमा आयो।

त्यसपछि सातौं विकेटका लागि कप्तान खनाल र दीपक बोहराबीच ३६ रनको महत्त्वपूर्ण साझेदारी भयो। नेपाल लक्ष्य नजिक पुगेर १२७ रन पुग्दा कप्तान खनाल ५८ रनमा पेभेलियन फर्किन पुगे।

त्यसपछि धर्मराएको नेपाली इनिङ १४० रनमा आठौं र १४४ रनमा नवौं विकेट गुमाउन पुग्यो। त्यसपछि थप दुई रन चाहिएको अवस्थामा नेपालको अन्तिम जोडीका रुपमा सुवाश भण्डारी र दीपक भण्डारी क्रिजमा थिए। 

४५ औं ओभरको चौथो बलमा सुवाशको ब्याटबाट चौका निस्किएपछि नेपालको जित सम्भव भयो। नेपालको जितमा कप्तान खनालको ५८, दीपक बोहराको २७, आकाश त्रिपाठीले १६ रनको योगदान रह्यो।

बलिङ तर्फ अफगानिस्तानका फारिदून दाउदजाईले ३, खलिल अहमद र कप्तान नासिर खानले २/२ विकेट लिए। खेलमा उत्कृष्ठ बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएका आकाश चन्द म्यान अफ द म्याच घोषित भए।

जितसँगै नेपालले अब सुपर सिक्समा प्रतिस्पर्धा गर्न पाउने भएको छ। समूह डिबाट दुई/दुई खेल जितेका पाकिस्तान र न्युजिल्यान्ड पनि सुपर सिक्समा प्रवेश गर्दा अफगानिस्तान भने तीन हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १२ माघ २०८० १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App