१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

हरिशंकरको अलराउन्ड प्रदर्शन

अर्धशतक पूरा गरेपछि मधेशका हरिशंकर साह। तस्बिर: क्यान

कप्तान हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेस प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित आत्मसात् गरेको छ।

मधेसले शनिबार कर्णालीमाथि ६१ रनको जितसहित जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो। कप्तान तथा ओपनर हरिशंकरले ५० रनको अर्धशतक बनाएसँगै एक विकेट पनि लिँदै अलराउन्ड प्रदर्शन गरे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। शीर्ष तीनका ब्याटरको साथ पाएपछि मधेसले मध्यम लक्ष्य दिएको हो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

कर्णालीको सुरुआत राम्रो हुन सकेन र चौथो ओभरमै १२÷२ को अवस्थामा पुग्यो। यस क्रममा कप्तान तथा ओपनर रवीन्द्र शाही एक रन र हिमान्शु शाही दुई रनमा आउट भए। दुवैलाई राजेश यादवले आउट गरेका हुन्।

अर्का ओपनर विपिन शाहीले तेस्रो विकेटका लागि अर्जुन घर्तीसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे। तर, विपिन ३१ रन बनाएर पभेलियन फर्किए। त्यसपछि विकेटकिपर अर्जुनले राम्रो साथ पाएनन्। लगातार विकेट पतन हुँदा कर्णाली २८.२ ओभरमा १०४/७ को अवस्थामा पुग्यो।

यद्यपि, नवौं नम्बरमा ब्याटिङ गर्न आएका दिनेश अधिकारीले उनलाई साथ दिए। यी दुईले आठौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै कर्णालीको आशा जीवन्त राखे। तर, मधेसका बलर राजेश यादवले ४०औं ओभरमा दिनेशलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे। त्यसपछि खातामा थप पाँच रन जोड्दा कर्णालीले बाँकी दुई विकेट पनि गुमाउन पुग्यो। अर्जुन ५८ रनमा अर्जुन तिवारीद्वारा आउट हुन पुगे। उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो। मधेसको बलिङमा राजेशले तीन विकेट लिए।

प्रदीप पासवानले दुई तथा रूपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर र पवन सर्राफले समान एक विकेट लिँदै कर्णालीलाई सस्तैमा अलआउट गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले उत्कृष्ट सुरुआत गर्‍यो। तर, मध्यक्रम चल्न नसक्दा ठूलो योगफल भने बनाउन सकेन।

कप्तान हरिशंकर र मयनको अर्धशतकमा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३१ रनको योगफल बनायो। कप्तान हरिशंकर र मयनले समान ५० रन जोड्दा विकेटकिपर अनिल साहले ४४ रन बनाए। हरिशंकरले ६१ बलमा ६ चौका प्रहार गरे। अनिलले ४४ बलमा चार चौका र दुई छक्का हिर्काए।

मयनको अर्धशतकमा पाँच चौका रह्यो। अनिल र हरिशंकरले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रन जोड्दै सानदार सुरुआत गरेका थिए। आठौं नम्बरका ब्याटर अभिषेक तिवारीले ३७ बलमा ३४ रन जोड्दै मधेसको इनिङ उकास्न मद्दत गरे। कर्णालीको बलिङमा दीपेन्द्र रावतले चार, अनुज चनाराले दुई तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले समान एक विकेट लिए।

प्रकाशित: ७ माघ २०८० ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App