२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

पिकेद्वारा बार्सिलोनाको उद्धार

मड्रिड – जेरार्ड पिकेले अन्तिम समयमा गरेको गोलमा बार्सिलोनाले आइतबार स्पानियोललाई १–१ को बराबरीमा रोक्दै स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ ।६६औं मिनेटमा जेरार्ड मोरेनाको गोलमा स्पानियोलले अग्रता लिएपछि अर्नेस्टो भाल्भार्डेको टोली यस सिजन पहिलो हारको संघारमा पुगेको थियो । तर खेल सकिन ८ मिनेट बाँकी हुँदा पिकेले मेसीको कर्नरलाई जाली चुमाउँदै बार्सिलोनाको संकट टारेका थिए ।

यस जितपछि २२ खेलमा ५६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ९ अंक बढी हो । एट्लेटिकोले तेस्रो स्थानको भ्यालेन्सियामाथि १–० को जित हात पार्दै बार्सिलोनासँगको अंकदूरी कम गरेको हो । समान खेलमा २५ अंक जोडेको स्पानियोल १५औं स्थानमा छ ।

भाल्भार्डेले वर्षाका कारण स्तरअनुसारको प्रदर्शन गर्न नसकेको बताए ।‘खेलको सुरुआतबाटै वर्षा भए पनि हामीले खेल त्यति कठिन हुने सोचेका थिएनाै,’ भाल्भार्डेले भने, ‘तर हिलाम्य मैदानका कारण बल नियन्त्रणमा लिन कठिनाइ भयो । वर्षाका कारण पाससमेत राम्रोसँग खेल्न सकिएन । खेल कठिन बनेपछि हामी बराबरी खेल्न केन्द्रित भयांै, किनभने हामी क्याटलान डर्बीमा हार स्विकार्ने पक्षमा थिएनाै।’यस बराबरीसँगै पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले अपराजित यात्रालाई क्लब कीर्तिमानी २२ खेलसम्म निरन्तरता दिएको हो ।यता एन्जेल कोरियाको गोल निर्णायक साबित हुँदा एट्लेटिकोले स्पष्ट तीन अंक जोड्दै बार्सिलोना बराबरीमा रोकिएको पूर्ण फाइदा उठायो ।

फिलतो प्रदर्शन गरेका दुवै टोलीले पहिलो हाफमा गोलका धेरैे अवसर सिर्जना गर्न सकेनन् । पहिलो  हाफमा एट्लेटिकोका साउल निग्वेजको प्रहार भ्यालेन्सियाका गोलकिपर नेटोले विफल पार्दा एट्लेटिकोका गोलकिपर सिमोन जाजाले पनि भ्यालेन्सियाको एक उत्कृष्ट प्रहार विफल पारेका थिए ।
तर ५९औं मिनेटमा कोरियाले नेटोलाई छक्याउँदै बललाई २५ यार्ड ढाडाबाटै जाली चुमाएका थिए । जारी सिजन उनको यो छैटौं गोल हो ।

अन्तिम समयमा स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बल नियन्त्रणमा लिए पनि दोस्रो गोलको अवसर सिर्जना गर्नुको सट्टा समय मात्र कटाउन खोजेको भन्दै एट्लेटिकोका समर्थकले उनीविरुद्ध नाराबाजी गरेका थिए ।
‘ग्रिजम्यानले त्यही गरे जुन उनले गर्नुपर्ने थियो । सबैले खेल जित्न चाहन्छन् । त्यसैले यो सामान्य हो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने ।यसअघि चाँडो गरी सम्पन्न खेलमा जिरोनाले एथलेटिक बिल्बाओलाई २–० ले पराजित गर्दा गेटाफे र लिगानेसले गोलरहित बराबरी खेले ।‘वर्षाका कारण पाससमेत राम्रोसँग खेल्न सकिएन । खेल कठिन बनेपछि हामी बराबरी खेल्न केन्द्रित भयाै, किनभने हामी क्याटलान डर्बीमा हार स्विकार्ने पक्षमा थिएनाै ।’

 

प्रकाशित: २३ माघ २०७४ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App