२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अपर्याप्त तयारी अनुरूपकै नेपाली युवाको प्रदर्शन

यु–१९ विश्वकपको तयारीमा चिन्ता

अपर्याप्त तयारीका बीच टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने महत्वाकांक्षी लक्ष्यसहित यु–१९ एसिया कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपालले समूहका सबै खेलमा हार बेहोरेको छ।

यु–१९ विश्वकप खेल्ने तयारमा समेत रहेको नेपालले यी तीनै खेलमा खराब ब्याटिङ गरेको छ। नेपालले आगामी जनवरी २१ मा न्युजिल्यान्डविरुद्ध पूर्व लन्डनमा खेल्दै यु–१९ विश्वकपको यात्रा थाल्दै छ। यही विश्वकपकै तयारीको रूपमा हेरिएको एसिया कपमा नेपालको प्रदर्शन हेर्दा निराशजक रह्यो।आठ पटकको च्याम्पियन भारत, समान एक पटक च्याम्पियन अफगानिस्तान र पाकिस्तानको समूह ‘ए’ मा रहे पनि नेपाली युवा टोली तयारी प्रभावकारी हुन सकेको थिएन।

करिब दुई हप्ताकै प्रशिक्षणबाट नेपाली युवा टोलीको संयुक्त अरब इमिरेट्स (युएई) मा समूहचरण पार गर्ने महत्वाकांक्षी लक्ष्य थियो। एसिया कपमा विश्व क्रिकेटकै बलिया राष्ट्र छन्। यो उमेरसमूहका क्रिकेट टोलीलाई राष्ट्रिय टोलीका लागि मेरुदण्ड पनि मानिन्छ। त्यसैले सबै राष्ट्रले यु–१९ एसिया कपको लागि राम्रो तयारी गर्छन्। विश्वकपकै तयारीका रूपमा रहेको एसिया कपमा करिब दुई हप्ताको प्रशिक्षणबाट नेपाल क्रिकेट संघ(क्यान) ले टोली पठाएको थियो।

यस क्रममा नेपाली युवा टोलीले कुनै पनि राष्ट्रसँग अभ्यास खेल खेल्ने अवसर पाएनन्। यद्यपि, नेपालकै राष्ट्रिय टोलीसँग भने केही अभ्यास खेल खेलिइएको बताइएको थियो। तर, पनि भारत, पाकिस्तान र अफगानिस्तान जस्तो बलिया राष्ट्र रहेको समूहमा प्रतिस्पर्धा गर्न नेपाली युवा टोलीको तयारी पर्याप्त थिएन। नतिजा पनि सोहीअनुरूप आए र नेपालले समूहका तीनै खेल निराशपूर्ण प्रदर्शन गर्दै हार बेहोर्‍यो। समूहको अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटको लज्जापूर्ण हार सामना गर्‍यो।

भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा नै रन बटुल्न सकेनन्। राष्ट्रिय टोलीबाट अनुभव लिइसकेका अलराउन्डर गुल्सन झासँगै कप्तान देव खनालको प्रदर्शन पनि सुखद रहेन। तीन खेलमा गरेर कप्तान देवले २६ रन र गुल्सनले २२ रन मात्र जोड्न सकेन। यद्यपि, गुल्सनले चार विकेट भने लिए। खराब ब्याटिङ सामना गरेपछि नेपालले पाकिस्तान र अफगानिस्तानविरुद्ध मुस्किलले ढेड सय रनको आँकडा पार गर्‍यो।  

अर्को एसोसिएट टोली युएईले टेस्ट राष्ट्र श्रीलंकामाथि दुई विकेटको जित निकाल्दै विश्व क्रिकेटमा सनसनी मच्याउँदा नेपाल भने निराशपूर्ण प्रदर्शनसहित घर फर्किदै छ। अन्तिम खेलमा भारतसँग ब्याटिङ हेर्ने हो भने यु–१९ विश्वकप खेल्ने तयारीमा रहेको नेपाली युवा टोलीको तयारीप्रति धेरै प्रश्न सिर्जना हुन्छन्। दुबइको आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपाली युवा टोली ५३ रनको झिनो योगफलमै समेटियो। त्यो योगफल भारतले ७.१ ओभरमा बिनाविकेट भेट्टायो। भारतका अर्शिन कुलकर्नीले ३० बलमा पाँच छक्का र एक चौकासहित ४३ रन तथा आदर्श सिंहले १३ बलमा दुई चौकासहित १३ रन बनाए।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतीय बलरसामू उनीहरूको प्रदर्शन निरिहपूर्ण रह्यो। हेमन्त धामीले ८, अर्जुन कुमाल र दीपक बोहराले ७, आकाश चन्दले ४, गुल्सन र दीपेश कँडेलले ४, कप्तान देव, सुवास भण्डारीले २ र दीपक बोहराले १ रन बनाए। उत्तम थापामगर र दीपक डुम्रेले खाता नै खोल्न सकेनन्। भारतका राज लिम्बिनीले एक्लैले सात विकेट लिँदै नेपालको इनिङ धरासयी बनाए। उनले ९.१ ओभरमा १३ रन मात्र दिए। आरध्य शुक्लाले दुई र कुलकर्नीले एक विकेट लिए।

समूह चरणमा नेपाल जितविहीन बन्दा भारतले भने दुई जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। भारतले अफगानिस्तानलाई सात विकेटले हराउँदा पाकिस्तानसँग भने आठ विकेटको हार बेहोरेको थियो।  

प्रकाशित: २६ मंसिर २०८० १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App