१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

हेटौंडा च्यालेन्ज कपको उपाधि एन्फा मकवानपुरलाई

तस्बिर: उपाधि सहित एन्फा मकवानपुरका खेलाडीहरु।

एफसी मुण्डियालको आयोजनामा हेटौंडामा सञ्चालन भएको सुदर्शन घिमिरे स्मृति २१ वर्ष मुनीको हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरले जितेको छ।

बुधबार भएको फाइनलमा रियल स्टार क्लवसँग ४–० को सहज जित निकाल्दै एन्फा मकवानपुर च्याम्पियन बनेको हो। पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थप्यो। एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो। दोस्रो हाफमा अनिष महर्जनले २ तथा सुजल श्रेष्ठले एक गोल थपे। एन्फा मकवानपुरले सहीद स्मृति क्लव फापरबारीलाई र रियल स्टारले नवजनजागृति क्लव सिमरालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। १४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियल स्टारले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाएको छ।

खेलको अन्तिमतिर झडपको अवस्था आएको थियो। करिब १० मिनेट खेल रोकिएको थियो। झगडा गरेको भन्दै दुवै टिमका एक/एक खेलाडीलाई रातो कार्ड दिएपछि बाँकी खेल खेलाइएको थियो। फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए। उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुँदा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए। सर्वोत्कृष्ट खेलाडीले १० तथा अन्य विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। उपमहानगरको दायित्व विनै उत्कृष्ट खेल आयोजना गरेको भन्दै उनले खुसी व्यक्त गरिन्। जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले खेल क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले महोत्सवलाई सबैले सघाउ पु¥याउन अनुरोध गरिन्। यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले यस्ता प्रतियोगिताहरुमा साथ, सहयोगको लागि सदैव तयार रहेको बताए। कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टीकाराम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए। आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका हुन्।  

प्रकाशित: १३ मंसिर २०८० १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App