२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

ललितपुरको सुखद सुरुआत

नेपाल सुपर लिग

बुटवल लुम्बिनीविरुद्ध गोल गरेपछि ललितपुर सिटी एफसीका दिनेश हेन्जन। तस्बिर: एनएसएल

अघिल्लो सिजन प्लेअफमा स्थान बनाएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको नेतृत्वमा रहेको ललितपुरले आफ्नो पहिलो खेलमा शनिबार बुटवल लुम्बिनी एफसीलाई २–० ले हराउँदै दोस्रो सिजनमा पनि सुखद सुरुआत गरेको हो।

अस्ट्रेलियन प्रशिक्षक इयान एन्ड्य्रुलाई भित्र्याएको ललितपुरले राम्रो तयारी पनि गरेको थियो। सोहीअनुरूप नतिजा पनि सुखद ल्याएको छ। ललितपुरको जितमा कप्तान तथा डिफेन्डर अनन्तले पनि गोल गरे। राष्ट्रिय टोलीकै अर्का सदस्य दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ललितपुरले ६औं मिनेटमा अग्रता लिएको हो।

अनन्तकै लामो पासमा पापा केबेले नियन्त्रणमा लिँदै गरेको प्रहार बुटवलका डिफेन्डर अर्नेस्ट टेम्पीले क्लियर गरे। यद्यपि, त्यो बल दिनेशले नियन्त्रणमा लिँदै सहजै जाली चुमाए। त्यसको पाँच मिनेटपछि नै अनन्तले टोलीको अग्रता दोब्बर बनाए।

अनन्तले अनिल महर्जनको कर्नरमा हेडमार्फत गोल गरेका हुन्। त्यससँगै पहिलो हाफमा ललितपुरले २–० को अग्रतासहित बुटवलमाथि दबाब बनायो।

एरिक विष्टको कप्तानीमा रहेको बुटवलले पनि खेलमा फर्कन निकै संघर्ष गर्‍यो। बुटवलका निकोलस सर्ज सङले ७४औं मिनेटमा गरेको प्रहार पोस्टनजिकैबाट बाहिरियो। त्यससँगै बुटवलले गोलअन्तर कम गर्ने अवसर गुमाउन पुग्यो। ८१औं मिनेटमा बुटवलले अर्को अवसर सदुपयोग गर्न सकेन।

चन्दन दासको क्रसमा स्टेफन बिनोङको फ्रिहेडर पोस्टमाथिबाट बाहिरिन पुग्यो। त्यससँगै ललितपुरले बुटवलमाथि सहज जित निकाल्दै यस सिजन पनि ९ टोली सम्मिलित लिगमा शीर्ष चारभित्र दाबेदारी प्रस्तुत गरेको छ।

त्यसअघि शनिबार नै भएको पहिलो खेलमा दिनेश राजवंशीको कप्तानीमा रहेको पोखरा थन्डर्सले एफसी चितवनमाथि १–० को साँघुरो जित निकाल्यो। यो हारसँगै चितवनले यस सिजन पनि खराब सुरुआत गरेको छ।

गत सिजन पनि चितवन लिगको पुछारमा रहेको थियो। पोखरालाई जित दिलाउन दिनेश राजवंशीको प्रदर्शन उत्कृष्ट रह्यो।

केही समयअगाडि नै अस्ट्रेलिया पलायन भएका दिनेश एनएसएल खेल्नका लागि नै स्वदेश फर्किएका हुन्। उनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन पनि गरे। दिनेश म्यान अफ दी म्याचसमेत भए।

तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन मोसेस ग्याबह ट्वामको गोल निर्णायक बन्यो। खेलको पहिलो हाफ भने बराबरीमा रोकियो। दोस्रो हाफमा भने पोखराले अग्रता लियो। ७२औं मिनेटमा स्टेफन कोजोको पास सदुपयोग गर्दै मोसेसले बललाई पोस्टको दिशा दिए। त्यसअघि ६०औं मिनेटमा पोखराका कप्तान दिनेशले गोल गरेका थिए। तर, उनको त्यो गोल अफसाइड निर्णय भयो।

७७औं मिनेटमा आयुश घलानको प्रहारलाई चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाए। ९०औं मिनेटमा चितवनलाई बराबरी गर्ने उत्कृष्ट अवसर थियो। टोरिकको क्रसमा मार्को इभानोभिचको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।

प्रकाशित: १० मंसिर २०८० ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App