१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रमुख पर्यटकीय शहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने बताए।

यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचारप्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उनले बताए।

“पर्यटकीय हिसाबले गण्डकी प्रदेश निकै धनी प्रदेशको रुपमा रहेको र थुप्रै सम्भावना समेत बोकेका कारण यस प्रदेशको पर्यटनलाई थप उचाइमा पुर्‍याउन चिनियाँ सरकारसँग सहकार्य गर्नसमेत हामी इच्छुक छौं”, मुख्यमन्त्रीले भने।

हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त शहर बनेको मुख्यमन्त्रीले बताए।

नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकारबाट सहयोग हुने विश्वास उनले व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले नेपाल र चीनबीचको युगौंदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले योेगदान गर्ने बताए।

पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै उनले त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको बताए।

दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको बताउँदै उनले त्यस क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गरिने बताए।

‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिता अन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ। सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन्। दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ।

सामूहिक विधातर्फको विजेताले तीन लाख ६० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। द्वितीयले दुई लाख ८८ हजार, तृतीयले दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले एक लाख ४४ हजार रूपैयाँ पुरस्कार पाउने छन्।

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ। विजेता महिला तथा पुरुषले जनही एक लाख ४४ हजार रूपैयाँ पुरस्कार पाउने छन्।

यसैगरी, उपविजेताले एक लाख आठ हजार, तृतीयले ५४ हजार र चौथोदेखि सातौंसम्मको १८ हजार र दशौंसम्मका धावकले नौ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

लेकसाइडको बाराहीघाटबाट सुरु प्रतियोगिता बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ।

यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही २५ हजार रूपैयाँ पाउने छन्। द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौंले पाँच हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ।  

प्रकाशित: ९ मंसिर २०८० ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App