१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट: बागमती प्रदेशको विजयी शुरुवात

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ। पोखरामा बिहीबारदेखि शुरुभएको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गर्ने क्रममा बिहीबार मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई १०९ रनले पराजित गर्यो।  

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शुरु भएको टी–२० क्रिकेट प्रतियोगितामा रित गौतमको अर्धशतकीय पारीको महत्वपूर्ण इनिङ्समा आयोजक रातोलाई सस्तैमा समेट्दै १०९ रनको जित सुनिश्चित गर्यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको बागमती प्रदेशले रित गौतमको ७४ रनको योगदानमा १८४ रनको योगफल तयार पार्यो। टस हारेको बागमतीले ओपनर गौतमले महत्वपूर्ण इनिङ्स खेल्ने क्रममा ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रन बनाएपछि ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।  

गौतम २० औं ओभरको अन्तिम बलमा रन आउटको शिकार भए। महेश भारको बलमा रन लिने क्रममा गौतम आउट हुन पुगे । सुभ कन्साकारले २२ बल खेल्दै २७ बनाएर आउट भए। उनी रनआउट हुन पुगे। ओपनिङमा आएका सुभले ४ चौका र १ छक्का हिर्काए । इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए। पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको अर्का ओपनर रित गौतमले भने इनिङ सम्हालेका थिए। प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे।

प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए। बलर केसीले १४ औं ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए। उनले महत्वपूर्ण विकेट लिने क्रममा सन्दीप लामिछानेको लिए। लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाव राखेपनि ओभरको अन्तिम बलमा आउट भए। गौरभ खड्का १७ रनमा अविजित रहे। एकेडेमीका केसीले ३ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए। सन्देथ थापा र सन्तोष यादवले समान एक एक विकेट लिए।  

१८५ रनको लक्ष्य पछ्याएको आयोजक रातोलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले चार ओभर बलिङमा आफनो स्पेलमा १६ रन खर्चिएर ४ विकेट लिए। सुवास खत्रीले खत्रीले २.२ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएपछि आयोजक रातो ७५ रनमा समेटिन पुग्यो । बागमतीका बलर सामु कमजोर देखिएपछि आयोजक रातोलाई सस्तैमा समेट्दै बागमतीले १०९ रनले जित दर्ता गर्यो। अमर मिश्रले १३, विजय प्रजापतिले १३ र सन्तोष यादव १२ रन बनाए। निर्मल थापाको पनि दोहोरो अंकको रन बनाउने क्रममा १० रन हिर्काए। अन्य व्याटरले दोहोरो अंकको रन छुन सकेनन्।  

प्रतियोगिताको उदघाटन नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले गरेका थिए। उनले खेलकुद क्षेत्रलाई व्यवसायिक नबनाएसम्म स्तरोन्नति नहुने जिकिर गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्र जबसम्म पूर्णरुपमा व्यवसायिक हुदैन तबसम्म खेलक्षेत्र माथि उठ्न नसक्ने स्पष्ट पारे। ‘खेलकुदलाई माथि उठाउन व्यवसायिक बनाउनुपर्छ। व्यवसायिक बनेमात्रै खेल क्षेत्र माथि उठ्छ’ बिहीबारदेखि पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै ओलीले भने–‘व्यवसायिक रुपमा माथि उठ्न सके मात्रै खेलाडीको जीवनसँगै परिवारमा उत्साह थपिन्छ।’  

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए। म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०÷२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन्।  

प्रकाशित: ७ मंसिर २०८० १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App