काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ।पराजित भएसँगै चितवन टाइगर्स प्रतियोगिताबाटै बाहिरिएको छ । चितवनले आफुले खेलेका ५ मध्ये १ मा जित र ४ मा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा जितका लागि पाएको ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
भैरहवाको जितमा पुनित मिश्रले २९ बलमा ३०, रोहित कुमार पौडेलले ४० बलमा २० र भुपेन्द्र थापाले १३ रनको योगदान दिए। चितवन टाइगर्सका सहाब आलम र दिपेन्द्रसिंह ऐरीले २/२ र प्रबिन गुप्ता र कमलसिंह ऐरीले १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ ८७ रन बनाएको थियो।
चितवनका लागि दिपेन्दसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५/१५ ललितसिंह भण्डारीले नटआउट १३, र आकाश थापाले ११ रनको योगदान दिए।
चितवनलाई सस्तैमा समेटन भैरहवाका कप्तान शरद भेषावकरले ३, हरीशंकर शाह र भुवन कार्कीले २/२ तथा पुनित मिश्र र कृष्ण कार्कीले १/१ विकेट चडकाए। चितवनले आज पनि राम्रो प्रदर्शन गर्न नसक्दा ४ विकेटले पराजित हुन पुग्यो।
प्रकाशित: ११ पुस २०७४ ०६:१६ मंगलबार