१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

इलाम गोल्डकप माघ ६ देखि १४ सम्म, माइभ्याली स्थगित

इलाम गोल्डकपबारे जानकारी दिँदै रेडहर्स र माइभ्याली फुटबल क्लबका पदाधिकारी। तस्बिर: भीम/नागरिक

इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यसअघि फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ।

सदरमुकामको टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुनेछन्। आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी इलाम गोल्डकपबारे जानकारी दिएको छ। प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टिम सहभागी हुने आयोजक संस्थाका महासचिव प्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै छ।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको उनले जनाए। रेडहर्स अध्यक्ष सांगे लामाले ५० लाख रुपैयाँभन्दा माथि खर्च हुने प्रतियोगिताको तयारी धमाधम भइरहेको जनाए।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व सदस्य निरोज खड्गीले प्रतियोगिता सञ्चालन गर्न स्रोत खोजी भइरहेको जनाए। ‘स्रोत खोजी गर्न केही समयपछि काठमाडौं जाँदैछौं,’ उनले भने, ‘विभिन्न संघ, संस्थासहित तीनै तहका सरकार र गेटमनीबाट सहयोग संकलन हुने आशा छ।’ उनले प्रतियोगिताका लागि मैदान तयार गर्न थालेको पनि जनाए। ‘नेपाली सेनाको मातहतमा रहेको मैदानमा प्रतियोगिता आयोजना गर्न सहमति लिइसकेका छौँ,’ उनले भने, ‘अब मैदान सम्याउने, सजिलो बनाउने र प्यारापिट निर्माणको काम हुनेछ।’ उनले दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिने जानकारी दिए।

यसअघि फागुन २४ देखि चैत ३ सम्म यही टुँडिखेलमा माइभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो। तर, माइभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माइभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ। माइभ्याली अध्यक्ष दिनेश काफ्लेले रेडहर्ससँगको सहमतिअनुसार माइभ्याली गोल्डकप चाहिँ केही महिना पछाडिमात्र आयोजना गरिने पनि यही पत्रकार सम्मेलनमा बताए।

‘एउटै जिल्लामा ठूला दुई प्रतियोगिता एकैपटक आयोजना गर्नुभन्दा केही समयको अन्तरालमा गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘एकैपटक दुई प्रतियोगिता धान्न आयोजक, दर्शक र दातासमेतलाई गाह«ो पर्ने देखिएपछि सहमतिमै तत्काललाई माइभ्याली स्थगित गरिएको हो।’ उनले कम्तीमा छ महिनाको अन्तरमा मात्र यस्ता प्रतियोगिता आयोजना गर्नु उचित भएपनि कति समयपछि माइभ्याली आयोजना गर्ने भन्ने तय भइनसकेको बताए। 

प्रकाशित: ४ मंसिर २०८० ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App