१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई छैटौं पटक विश्वकप उपाधि

विश्वकप उपाधिका साथ अस्ट्रेलियाका खेलाडी। तस्बिर: एपी

ट्राभिस हेडको यादगार शतकप्रेरित अस्ट्रेलियाले आइतबार फाइनलमा भारतमाथि ६ विकेटको जित निकाल्दै छैटौं पटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ४७/३ को अवस्थाबाट अस्ट्रेलियाले २४१ रनको लक्ष्य भेट्टाउँदै छैटौं पटक विश्वकपको उपाधि उचाल्यो। ट्राभिसले १३७ रन र मार्नस लाबुसेनले अविजित ५८ रन बनाउँदै ४२ बलअगावै अस्ट्रेलियालाई जित दिलाए।

 कठिन परिस्थितिबाट यो जोडीले चौथो विकेटका लागि १९२ रनको विजयी साझेदारी गर्‍यो। यससँगै पछिल्ला १० खेलमा अपराजित भारतको फाइनलमा स्तब्ध भएसँगै तेस्रो पटक विश्वकप उचाल्ने सपना यसपल्ट पनि अधुरै रह्यो। २९ वर्षे ट्राभिस विश्वकप फाइनलमा शतक बनाउने विश्वका सातौं र अस्ट्रेलियाका तेस्रो ब्याटर बने।

४८ वर्षको विश्वकप इतिहासमा अस्ट्रेलियाका एडम गिलक्रिस्टले १४९ रन (२००७) र रिकी पोन्टिङले सन् २००३ मा अविजित १०३ रनको विजयी इनिङ खेलेका थिए। आइतबार हेडले पनि त्यो सफलता दोहोर्‍याउँदै ९५ बलमा नै शतक पूरा गरे।

गत जुनमा सम्पन्न भारतविरुद्धकै टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि ट्राभिसले १६३ रनको इनिङ खेल्दै अस्ट्रेलियालाई जित दिलाएका थिए। ५० ओभरको फाइनलमा पनि भारतका लागि उनी घातक साबित भए। ओपनर ट्राभिसले १२० बलमा १५ चौका र चार छक्का प्रहार गरे।

जितका लागि दुई रन आवश्यक हुँदा उनी मोहम्मद सिराजको बलमा आउट हुन पुगे। सुस्त ब्याटिङ गरे पनि ट्राभिसलाई साथ दिएका लाबुसेनले ११० बलमा चार चौका मात्र प्रहार गरे।

खराब सुरुआत गरेको अस्ट्रेलियाले दोस्रो ओभरमै ओपनर डेविड वार्नरलाई ७ रनमै गुमाउन पुग्यो। मोहम्मद सामीले उनलाई स्लिपमा विराट कोहलीबाट क्याच गराए। त्यससँगै सामी यस विश्वकपमा सर्वाधिक (२४) विकेटकर्ता बने। उनले अस्ट्रेलियाका एडम जाम्पालाई एक विकेटले पछि पारे।

वार्नर सस्तैमा आउट भए पनि अस्ट्रेलियाले आक्रामक ब्याटिङ जारी राख्यो। तर, पाँचौं ओभरमा मिचेल मार्सलाई १५ रन र सातौं ओभरमा स्टिभ स्मिथलाई ४ रनमा गुमाएपछि पाहुना टोली दबाबमा पर्‍यो।

यी दुवै जसप्रीत बुमराहद्वारा आउट भए। त्यससँगै ६.६ ओभरमा अस्ट्रेलिया ४७/३ को अवस्था पुग्यो। तर, त्यसपछि ट्राभिस र लाबुसेनले यादगार साझेदारी गर्दै अस्ट्रेलियालाई छैटौं पटक विश्वकप दिलाए। यता, हारसँगै भारत भने सन् १९८३ र सन् २०११ पछि तेस्रो विश्वकप उचाल्न असफल रह्यो।

त्यसअघि तीव्र गतिका बलर मिचेल स्टार्कको तीन विकेट प्रेरणामा अस्ट्रेलियाले घरेलु टोलीलाई २४० रनको मध्यम योगफलमा नै रोक्यो। एक लाख ३० हजार दर्शकको साथ पाएको अहमदाबादमा भारतले ब्याटिङका लागि निकै संघर्ष गर्नुपर्‍यो।

पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने कप्तान प्याट कमिन्सको निर्णयमा साथ दियो। भारतका लागि विराट कोहलीले ५४ रन र केएल राहुलले ६६ रन जोडे। आक्रामक ब्याटिङ गरेका कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भएपछि अस्ट्रेलियाले खेलमा पकड जमायो।

स्टार्कले ३/५५ को प्रदर्शन गर्दा अर्का तीव्र गतिका बलर कमिन्स र जोस हेजलवुडले समान दुई विकेट लिए। विकेटकिपर जोस इङ्लिसको पाँच क्याच विश्वकप फाइनलमा रेकर्ड बन्न पुग्यो।

स्टार्कले चौथो ओभरमा शुभमन गिललाई ४ रनमै आउट गर्दै पहिलो सफलता दिलाए। तर, कप्तान रोहितले सोही ओभरको अन्तिम बलमा छक्का प्रहार गरे। सातौं ओभरमा कोहलीले स्टार्कलाई लगातार तीन चौका प्रहार गर्दै दबाब कम गर्ने प्रयास गरे। आठौं ओभरमा ग्लेन म्याक्सवेलले बलिङ पाए।

तर, उनले नवौं ओभरमा रोहितलाई आउट गर्दै ठूलो सफलता दिलाए। लगातार छक्का र चौका प्रहारपछि चौथो बलमा पनि ठूलो सट खेल्ने प्रयासमा रोहित क्याचआउट हुन पुगे। ११औं ओभरमा कप्तान कमिन्सले लयमा रहेका श्रेयस ऐय्यरलाई ४ रनमा नै पवेलियन फर्काउँदै ठूलो झड्का दिए। त्यससँगै १० खेलमा अपराजित भारत १०.२ ओभरमा ८१–३ को अवस्थामा पुग्यो। त्यो विकेटपछि भारतले सुस्त ब्याटिङ गर्‍यो। तर, कोहलीले चौथो विकेटका लागि राहुलसँग ६७ रनको साझेदारी गर्दै इनिङ उकासे।

यस क्रममा यो जोडीले अनुशासित अस्ट्रेलियन बलरविरुद्ध १६.१ ओभर खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न सकेन। २७औं ओभरमा राहुलले चौका प्रहार गरे। कमिन्सले २९औं ओभरमा भारतलाई अर्को झड्का दिए। उनले विराटलाई बोल्ड गरे र घरेलु समर्थक आवाजविहीन भए। त्यसपछि आएका रवीन्द्र जडेजा पनि ९ रनमै आउट भए र भारत ३५.५ ओभरमा १७८/५ को अवस्थामा पुग्यो। अर्को छेउबाट राहुलले इनिङ अगाडि बढाए। तर, ४२औं ओभरमा स्टार्कले राहुललाई इङ्लिङद्वारा क्याच गराउँदै भारतको छैटौं विकेट लिए।

त्यो विकेटसँगै भारत सामान्य योगफलमा रोकिने पक्का बन्यो। त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो। यद्यपि, सूर्यकुमार यादवले इनिङलाई अगाडि बढाउने आशा थियो। तर, उनी ४८औं ओभरमा १८ रनमै आउट भए। तल्लो क्रमका कुलदीप यादवले १० रन र मोहम्मद सिराजले ९ रन बनाउँदै भारतलाई मध्यम योगफलतर्फ अग्रसर गराए।

प्रकाशित: ४ मंसिर २०८० ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App