१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको लज्जापूर्ण हार

नेपालकी पूजा महतोलाई रनआउट गरेपछि अपिल गर्दै हङकङका खेलाडी। तस्बिर: क्यान

लगातार खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल महिला क्रिकेटतर्फ चार देश सम्मिलित ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा हङकङसँग लज्जापूर्ण हार बेहोर्न बाध्य भएको छ।

हङकङमा जारी शृंखलाको पहिलो खेलमा तान्जानियासँग लज्जापूर्ण ब्याटिङ गरेको नेपालले बिहीबार पनि आयोजकसँग सोही खराब लय जारी राखेपछि टोली ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। यो हारसँगै नेपाल शृंखलाको फाइनलमा पुग्ने सम्भावनाबाट पनि बाहिरिएको छ।

नेपालले अब शृंखलाको अन्तिम खेलमा शनिबार तुलनात्मक रूपमा कमजोर मानिएको जापानसँग खेल्नेछ। त्यसपछि नेपालले तेस्रो स्थानका लागि जापानसँग नै खेल्ने तय छ। आइसिसीको ट्वान्टी–२० वरीयतामा नेपाल २१औं र जापान ५१औं स्थानका टोली हुन्।

त्यसैले यो खेलमा जित या हार नेपाली टोलीका लागि अस्तित्वको लडाइँ मात्र हुनेछ। आइतबार हङकङ र तान्जानिया उपाधिका लागि खेल्नेछन्। त्यसअघि नै यी दुईबीच समूहको खेलका लागि शनिबार नै प्रतिस्पर्धा हुने तय छ। हङकङ लगातार दुई खेल जित्दै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। बिहीबार नै तान्जानियाले पनि जापानलाई ११० रनले हराउँदै दोस्रो सफलता निकालेको थियो। दुवै टोली समूहको अन्तिम खेल जित्दै उपाधिको बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छन्।

शृंखलाको पहिलो खेलमा बुधबार जापानले हङकङसँग ९ विकेट र नेपालले सोही दिन तान्जानियासँग २७ रनको हार ब्यहोरेका थिए। हङकङ क्रिकेट मैदानमा बिहीबार पनि नेपालको खराब ब्याटिङको शृंखला रोकिएन।

नेपालले दिएको ५७ रनको झीनो लक्ष्य हङकङले ९ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नै सकेनन्। २.५ ओभरमा नै नेपाल ४/५ को नाजुक अवस्थामा पुग्यो।

नेपालले दोस्रो ओभरमा ओपनर पूजा महतोलाई ४ रनमै गुमाउन पुग्यो। उनी रनआउट हुन पुगिन्। तर, त्यसपछि इक्रा सहरको तेस्रो ओभर नेपालका लागि थप घातक बन्यो। इक्राले सो ओभरमा सम्झना खड्कालाई १ रन तथा काजोल श्रेष्ठ र कप्तान इन्दु बर्मालाई लगातार शून्यमा पवेलियन फर्काउँदै ह्याट्रिक पूरा गरिन्। त्यसपछि अनुभवी ब्याटर सीता रानामगरले इनिङ अगाडि बढाउने प्रयास गरिन्। तर, उनी पनि केरी चानद्वारा ९ रनमा नै आउट भइन्। त्यसपछि पूर्वकप्तान रुबिनाले अर्को छेउबाट इनिङ अगाडि बढाइन्।

तर, उनले पनि साथ पाउन सकिनन्। उनी पनि २९ बलमा २५ रन बनाएर पवेलियन फर्किइन्। रुबिनालाई रुचिथा वेंकटेशले बोल्ड गर्दै नेपाललाई ठूलो झड्का दिइन्। त्यसपछि क्रिजमा आएका कञ्चन श्रेष्ठ १ रन, रोमा थापा ७, संगीता राई २ रन र अस्मिता कर्माचार्य शून्य रनमा नै पवेलियन फर्किएपछि नेपाल झीनो योगफलमा समेटियो।

हङकङका लागि इक्रा सहरले तीन विकेट लिंदा रुचिताले दुई विकेट तथा बेटी चान, मारिको हिल र केरी चानले समान एक विकेट निकाल्दै नेपालको इनिङ धराशयी बनाए।

जवाफमा हङकङले सहजै लक्ष्य पूरा गर्‍यो। उसका लागि नतासा मिल्सले २३ बलमा ४ चौकासहित ३० रन र सन्जिन सेहजादले २० रनमा अविजित रहँदै जित निकाले। त्यसअघि मारिको हिल भने ५ रनमा रनआउट हुन पुगेकी थिइन्।

लगातार दोस्रो हारसँगै यसै शृंखलाअगाडि नेपाली राष्ष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानी जिम्मेवारी समालेकी इन्दु बर्माका लागि पनि प्रतियोगिता सुखद बन्न सकेन। यसै शृंखलाअगाडि नयाँ नेतृत्वको नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान रुबिनालाई हटाउँदै इन्दुलाई जिम्मेवारी दिएको हो। प्रशिक्षकमा भने मनोज कटवालले जिम्मेवारी पाए पनि उनका लागि पनि सुखद बन्न सकेन। 

प्रकाशित: १ मंसिर २०८० ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App