१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाको समर्थन साउदीलाई

सन् २०३४ को पुरुष विश्वकप फुटबल

अस्ट्रेलियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल आयोजनाको दाबेदारीका लागि साउदी अरेबियालाई सघाउने भएको छ। यसअघि अस्ट्रेलियालाई यो संस्करणको दाबेदारका रूपमा हेरिएको थियो। यद्यपि, उक्त आयोजनाको दाबेदारी प्रस्तुत गर्न अक्टोबर ३१ को अन्तिम समयसीमा तय गर्दा अस्ट्रेलियाले आफ्नो नाम दर्ता गरेन र साउदी अरेबियाको लक्ष्य सहज बनायो।

एसियन फुटबल फेडेरेसनको पनि साथ पाएपछि साउदी अरेबियालाई बलियो दाबेदारको रूपमा हेरिएको छ। ‘हामीले फिफा विश्वकप आयोजनामा दाबेदारी प्रस्तुत गर्ने तयारी गरेका थियौं। तर, सबै अवस्थामा हेर्दा हामी सन् २०३४ को आयोजना गर्ने दाबेदारीबाट पछि हटेका छौं,’ अस्ट्रेलियन फुटबल फेडेरेसेनले भन्यो।

पालैपालो आयोजनाको आधारमा फिफाले एसिया र ओसिएना क्षेत्रलाई सन् २०३४ को विश्वकप आयोजना गर्ने निमन्त्रण गरेको थियो। त्यसअघि सन् २०३० को विश्वकप मोरोक्को, स्पेन र पोर्चुगलले संयुक्त रूपले आयोजना गर्ने भएपछि त्यसपछिको विश्वकप दाबेदारीमा एसिया र ओसिएनाले अवसर पाएका हुन्।

सुरुमा सन् २०३४ को विश्वकप आयोजनामा इन्डोनेसिया र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गर्न सक्ने चर्चा चलेको थियो। तर, अस्ट्रेलियाले साउदी अरेबियालाई समर्थन गर्ने भएको छ। पछिल्ला समय विश्व खेलकुदका ठूला आयोजना भित्र्याएको साउदीले विश्वकप पनि आयोजना गर्ने योजना लामो समयदेखि बनाएको थियो। यसअघि खाडी राष्ट्र साउदीकै छिमेकी राष्ट्र कतारले पहिलो पटक विश्वकप फुटबलको आयोजना गरिसकेको छ।

अस्ट्रेलियाले सन् २०२६ को महिला एसियन कप फुटबल र सन् २०२९ को फिफा क्लब विश्वकप आयोजना गर्ने लक्ष्य भने राखेको छ। यसअघि अस्ट्रेलियाले न्युजिल्यान्डसँग सयुक्त रूपमा यसै वर्ष महिला विश्वकप फुटबल आयोजना गरिसकेको छ।  

प्रकाशित: १५ कार्तिक २०८० ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App