९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

वेस्ट ह्यामको लोभलाग्दो पुनरागमन

बुधबार टाेछेन्ह्यामविरूद्ध विजयी गाेल गरेपछि वेस्ट ह्यामका खेलाडी

लन्डन – चेल्सीले एभर्टनको चुनौती पाखा लगाएको दिन बुधबार वेस्ट ह्यामले सुरुमा दुई गोल खानाका बावजुद टोटेनह्यामलाई निराश पार्दै इङ्लिस लिग कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। 

स्लाभेन बिलिचले थुपै्र परिवर्तनका साथ उतारेको टोली मध्यान्तरसम्म २–० ले पछि थियो । पहिलो हाफमा अल्छीलाग्दो प्रदर्शनमा सीमित भए पनि मध्यान्तरपछि आन्द्रे अयुले दुई गोल गरेपछि वेम्बलीको मैदानमा आश्चर्यजनक पुनरागमन जनाउँदै प्रिमियर लिगमा संघर्षरत वेस्ट ह्यामले ३–२ को जित निकाल्यो। 

टोटेनह्यामले पनि प्रिमियर लिगका साथै च्याम्पियन्स लिगका लागि खेलाडीलाई आराम दिने उद्देश्यका साथ बुधबारको खेलमा थुप्रै परिवर्तन गरेको थियो । मौसा सिसोकोले छैटौं मिनेटमै गोल गरेपछि सुरुदेखि नै टोटेनह्यामले घरेलु मैदानमा खेल नियन्त्रणमा राखेको थियो । सन ह्युङ–मिनको पासलाई नियन्त्रणमा लिँदै सिसोकोले विपक्षी रक्षकको बीचबाट बल अघि बढाएर वेस्ट ह्यामका गोलकिपर एड्रियनलाई झुक्याउँदै गोल गरेका थिए। 

मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा फेरि सनकै प्रभावशाली प्रदर्शन मद्दतमा डेले अलीले टोटेनह्यामको अग्रता दोब्बर पारे। 

तर मध्यान्तरपछि खेल सुरु भएको १० मिनेटमा खेलले पुनर्जीवन पायो । इडिमिल्सन फर्नान्डेजले पेनाल्टी बक्सको छेवैबाट गरेको कडा प्रहार टोटेनह्यामका गोलकिपर माइकल भर्मले राम्ररी नियन्त्रणमा लिन नसकेपछि फुत्किएको बललाई अयुले गोलमा परिणत गरेर भ्रमणकारी टोलीको पुनरागमन यात्रा थालनी गरे । म्यानुअल लान्जिनीको क्रसलाई गोलमा परिणत गर्दै अयुले शुक्रबार प्रिमियर लिगको खेलमा ब्राइटनसँग ३–० को हार भोगेको वेस्ट ह्यामलाई बराबरीमा ल्याए । समय सकिन २० मिनेट बाँकी रहँदा म्यानुअल लान्जिनीको कर्नरलाई एन्जेलो ओबिन्जे ओग्बोनाले गोलमा परिणत गर्दै वेस्ट ह्यामलाई महत्त्वपूर्ण जित दिलाए। 

‘यस्तो शैलीमा जित्दाको मजा बेग्लै हुने गर्छ । पक्कै पनि ब्राइटनविरुद्धको खेल हाम्रो खराब नतिजामध्ये एक थियो । तर अब खेलाडीहरू चोटबाट फर्किइसकेका छन् । हामी आगामी खेलको प्रतीक्षामा छौं,’ वेस्ट ह्यामका प्रशिक्षक बिलिकले भने, ‘आजको खेलबाट हाम्रो टोलीमा जीवन्तता देखिन्छ । टिमले सकारात्मक सोचका साथ खेलेको छ । पक्कै पनि पछिल्ला दिनमा हामीले धेरै सुधार गरेका छौं । तर प्रिमियर लिग सिजनको मूल्यांकन गर्ने हो भने अहिलेसम्म हामीले केही गरेका छैनौं । अब गर्ने दिन आएको छ ।’

टोटेनह्यामले सप्ताहान्तमा लिभरपुललाई ४–१ को नतिजामा हराउँदाको टोलीबाट बुधबार सात खेलाडी परिवर्तन गरेको थियो । ह्यारी केन र क्रिस्टियन इरिक्सनजस्ता खेलाडीलाई प्रशिक्षक माउरिसियो पोचेटिन्होले पहिलो रोजाइमा राखेका थिएनन्। 

आफ्नो टोलीले आक्रमणमा जोसिलो प्रदर्शन गर्न नसकेका कारण १५ मिनेटको बीचमा तीन गोल खाएको पोचेटिन्होको प्रतिक्रिया थियो । ‘सायद दुई गोल गरेपछि हामीले खेल जितिसक्यौं भन्ने ठान्यौं । त्यसैले दोस्रो हाफमा हामीले खेल्न बिर्सियौं । दोस्रो हाफको प्रदर्शन सम्झँदा पनि लाजलाग्दो भयो,’ उनले भने। 

उता एभर्टनको कार्यवाहक प्रशिक्षकका रुपमा पहिलो खेलका लागि टोलीलाई स्टामफोर्ड ब्रिज भ्रमणमा लगेका डेविड अन्सवर्थको डेब्यु सुखद हुन सकेन । एन्टोनियो रुडिगर र विलियनले गोल गरेपछि घरेलु टोली चेल्सीले एभर्टनको चुनौती २–१ को नतिजामा समाप्त पार्‍यो।

लगातारको खराब नतिजाका कारण रोनाल्ड कोम्यान बर्खास्तगीमा परेपछि कार्यवाहक प्रशिक्षक अन्सवर्थको नेतृत्वमा चेल्सी भ्रमण गरेको एभर्टनका लागि इन्जुरी समयमा डोमिनिक काल्भर्ट लेविनले गरेको एउटा गोल सान्त्वनामा सीमित भयो । 

‘आजको खेलबाट हाम्रो टोलीमा जीवन्तता देखिन्छ । टिमले सकारात्मक सोचका साथ खेलेको छ । पक्कै पनि पछिल्ला दिनमा हामीले धेरै सुधार गरेका छौं ।’

प्रकाशित: १० कार्तिक २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App