१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

प्रिन्स दाहाल सम्मिलित टोली नेपाल जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ ।

बिनजियाङ जिम्न्याजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनील जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए । प्रिन्सले २१–८, २१–१४ र सुनीलले २१–११, २१–७ ले हराउँदै अग्रता बनाए । तर, विष्णु कटुवाल एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो ।

विष्णुले उक्त खेल २१–२३, २४–२२, १७–२१ ले गुमाए । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएन । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हरायो । महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि पर्यो ।  

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले पराजित भएपछि माल्दिभ्स जितनजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोलीले हार बेहोर्यो ।

बक्सिङ: दोस्रो खेलमा रविन पराजित

हानझाओ, असोज ११– नेपालका बक्सर रविन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।

हानझाओ जिम्न्याजियममा भएको बक्सिङ पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौतीले पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दै छिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आआफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

पौडी :अनुशिया हिटबाटै बाहिरिन्

१९औं एसियाड अन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तण्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुशियाले आफ्नो हिटमा तेस्रो स्थानमा रहे पनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहिन् ।

टेबल टेनिस :नविता र सिक्का पराजित 

१९औं एसियाड अन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् । नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३, ११–२ ले पराजित गरिन् । यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भयो । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित भयो । उक्त खेल चिनियाँ जोडीले ११–३, ११–४, ११–१ ले जितेको थियो ।

प्रकाशित: १२ आश्विन २०८० ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App