२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंका प्रतियोगिताबाट बाहिर

काठमाडौं- श्रीलंकाले आइतबार भुटानलाई ६-० को नतिजा सुम्पिएपछि काठमाडौं जारी यु–१५ साफ च्याम्पियनसिप प्रयितोगिताबाट बाहिरिएको छ। लगातार दोस्रो हारपछि श्रीलंका गोलविहीन भएर घर फर्किँदा भुटानले सेमिफाइनलमा स्थान पक्का गरेको छ। शुक्रबार भएको पहिलो खेलमा श्रीलंका बंगलादेशसँग ४–० ले पराजित भएको थियो। समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भुटान समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।  बंगालदेश दोस्रो स्थानमा छ।

श्रीलंकाका मुख्य प्रशिक्षक सुजुकी चिकासीले राम्रो तयारी गर्न नपाएकाले राम्रो नतिजा निकाल्न नसकेको बताए। उनले थपे, ‘छोटो समयको तयारीमा हामी यो प्रतियोगिता खेल्न आएका थियौं। त्यसैले यो नतिजालाई मैले स्वीकार गर्नुपर्छ।’

श्रीलंकामाथि सुरुबाटै हाबी बनेको भुटानले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो। नवौं मिनेटमा भुटानलाई अग्रता दिएका दोर्जी खान्डोले २४औं मिनेटमा अग्रता दोब्बर पारे। किंगा वाङचुकले ३१औं मिनेटमा अर्को गोल थपे। ४३औं मिनेटमा चौथो गोल गरेका केलजाङ जिम्मीले पहिलो हाफको अन्तिम मिनेटमा अर्को गोल थपेपछि भुटान ५–० ले अग्रता लिन सफल भयो।

दोस्रो हाफमा पनि भुटानले खेल नियन्त्रणमा लिएको थियो। तर, श्रीलंकाले रक्षापंक्ति कसिलो बनाएपछि भुटानलाई थप गोलका लागि ९० मिनेटसम्म कुर्नुपरेको थियो। भुटानका लागि छैटौं गोल सिद्धार्थ गुरुङले गरे।

भुटानले अब बंगलादेशसँग एन्फा मुख्यालयमै मंगलबार खेल्नेछ। विजयी टोली समूहविजेताको हैसियतमा अन्तिम ४ मा प्रवेश गर्नेछ। आइतबारको सहज जितपछि भुटानका प्रशिक्षक सोङजुन लीले बंगलादेशसँग फरक रणनीतिमा उत्रने बताए। ‘खेडालीले धेरै राम्रो खेले। टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु,’ भुटानका प्रशिक्षक लीले थपे, ‘बंगलादेश बलियो टोली र उनीहरुविरुद्ध खेल्नु कठिन हुनेछ। बंगलादेशविरुद्ध हामी फरक रणनीतिमा उत्रनेछौं।’

नेपालको खेल आज

आयोजक नेपालले सोमबार माल्दिभ्सविरुद्धको खेलबाट यु–१५ साफ च्याम्पियनसिप प्रतियोगिताको सुरुआत गर्नेछ। सुनील मानन्धरको प्रशिक्षणमा रहेको नेपालले समूह ‘बी’ मा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा माल्दिभ्सलाई पराजित गरे नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ। शनिबार सम्पन्न खेलमा माल्दिभ्स भारतसँग ९–० ले पराजित भएको थियो। दुवै समूहबाट शीर्ष दुईले अन्तिम चारमा स्थानमा बनाउनेछन्।

प्रकाशित: ५ भाद्र २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App