२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

‘भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छाैं'

तस्बीर साैजन्यः क्यान

‘विकेट टेकिङ’ बलर सन्दीप लामिछानेको सहभागिताबारे अन्योलका बीच एसिया कपमा डेब्यु गर्न लागेको नेपालले राम्रो क्रिकेट खेल्ने लक्ष्य राखेको छ।

भारत र पाकिस्तानको समूह ‘ए’ मा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन्। एसिया कपको यात्रा सुरु हुनुअगाडि मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन्। पाकिस्तान एसिया कपको आयोजक भए पनि भारतसँग राजनीतिक द्वन्द्वका कारण श्रीलंकामा पनि केही खेल हुँदै छन्। नेपालले सोही समूहको दोस्रो खेल भारतसँग श्रीलंकामा नै खेल्दै छ।

यद्यपि, त्यसअघि नेपालले अगस्ट ३० मा पाकिस्तानविरुद्ध मुल्तानमा एसिया कपको यात्रा थाल्नेछ। एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्दै छ। त्यसका लागि नेपाल मंगलबार पाकिस्तान प्रस्थान गरिसकेको छ। कप्तान रोहित क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूप प्रदर्शन गर्नेमा आशावादी देखिए। ‘भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुन्छ। त्यसैले उनीहरूविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ कप्तान रोहितको भनाइ थियो। साथै उनले सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताए।  

नेपालका भरपर्दा बलर सन्दीप लामिछानेले एसिया कप नखेल्ने समाचार पछिल्लो समय बाहिरिरहेको छ। सन्दीपले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिताको विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन्। नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने या नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महŒव सबैमाझ स्पष्ट रहेको धारणा राखे। ‘उहाँ (सन्दीप लामिछाने) सहभागी हुने नहुने बारे मलाई थाहा छैन। तर, उहाँको महŒव हामी सबैले बुझेका छौं,’ रोहितले सन्दीपबारे भने।  

क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिनसकेको बताए। उनले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गरे। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले पछिल्ला समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुबिधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका ‘च्याम्पियन खेलाडी’ रहेको पनि स्पष्ट पारे। समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर चारमा खेल्नेछ। त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलंकामा यो खेल खेल्ने जानेछ।  

बलियो भारतविरुद्धको खेलका लागि पनि तयार रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको धारणा थियो। कप्तान रोहितले विश्वकप छनोटमा वेस्ट इन्डिज जस्तो टेस्ट राष्ट्रसँग खेलिसकेको र त्यहाँबाट धेरै कुरा सिकेकाले त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे। नेपालले एसिया कपका लागि लामो समयदेखि तयारी गरिरहेको छ। वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो। प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूविरुद्ध अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने बताएका छन्।

पछिल्ला ५÷६ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको पनि प्रशिक्षक देसाई बताउँछन्। एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका थिए। एसिया कपअगाडि नेपालले कराचीमा अभ्यास खेल खेल्नुका साथै आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण गर्नेछ। रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतीश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन्। यद्यपि, सन्दीपको सहभागिताबारे भने अहिलेसम्म टुङ्गो लागेको छैन।

प्रकाशित: ६ भाद्र २०८० ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App