२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ओल्गाको गोलबाट स्पेन फाइनलमा

डिफेन्डर ओल्गा कार्मोनाले मंगलबार स्पेनलाई ऐतिहासिक सफलता दिलाउँदै पहिलो पटक महिला विश्वकप फाइनलको यात्रा तय गराउन उत्कृष्ट रूपमा आफ्नो कला प्रस्तुत गरिन्।

अकल्यान्डको इडन पार्कमा भएको सेमिफाइनलमा कप्तान ओल्गाको सशक्त प्रहार गोलमा परिणत भएपछि स्पेनले स्विडेनमाथि २–१ को सफलता पाएको हो। यो प्रतिस्पर्धा पनि अतिरिक्त समयतर्फ धकेलिएको थियो। तर, अन्तिम समयमा ओल्गाले गोल गर्दै सम्भावना जीवन्त बनाएकी हुन्। स्पेनले खेल सकिन ९ मिनेट बाँकी छँदै नै गोल गर्दै अग्रता लिएको थियो। यद्यपि, ८८औं मिनेटमा गोल फर्काउँदै स्विडेनले आशा जीवन्त बनायो। स्विडेनकी रेबिका ब्लोमभिस्टले गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याएकी हुन्। त्यसको ६० सेकेन्डपछि नै स्पेनले दोस्रो गोल गर्यो।

स्पेनकी अट्याकिङ डिफेन्डर ओल्गाले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन्। ‘मानसिक रूपमा धेरै बलियो खेल आवश्यक हुन्छ भन्ने मलाई लागेको थियो,’ स्पेनका प्रशिक्षक जर्ज भिल्डाले भने, ‘उनीहरूले पनि त्यहीअनुसार प्रदर्शन गरे। अन्तिम समयमा ओल्गाले पनि उत्कृष्ट कला प्रस्तुत गरिन् र हामीलाई अगाडि बढाइन्।’ अब स्पेनले आगामी आइतबार सिड्नीमा फाइनल खेल्नेछ। अहिलेसम्म महिला विश्वकपको अन्तिम १६ पार गर्न नसकेको स्पेनले यस प्रतियोगितामा भने यादगार यात्रा जारी राखेको छ।

स्पेनले खेल सकिन ९ मिनेट बाँकी छँदै नै गोल गर्दै अग्रता लिएको थियो। यद्यपि, ८८औं मिनेटमा गोल फर्काउँदै स्विडेनले आशा जीवन्त बनायो। त्यसको ६० सेकेन्डपछि कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन्।

गत सेप्टेम्बरमा मात्र स्पेनका १५ खेलाडीले आफ्नो फेडेरेसनलाई खेलाडीको छनोट प्रक्रिया र भिल्डाको खेल्ने शैलीलाई लिएर असन्तुष्टि जनाएका थिए। तीमध्ये तीन खेलाडी मात्र विश्वकपमा आएका छन्। तर, स्पेनले उनीहरूको अभाव महसुस हुन दिएन र महिला विश्वकप जित्ने सपना जीवन्त राखेको छ। स्विडेन भने यस पटक सफलतानजिक पुगेर स्तब्ध हुन बाध्य भएको छ। पछिल्ला चार विश्वकपमा स्विडेन तेस्रो पटक सेमिफाइनलमा पुगेको हो, तर ती सबैमा उसले हार बेहोरेको छ।

गत वर्षको युरोपियन च्याम्पियनसिपमा पनि पिटर गरहार्डसनको टोली स्विडेन अन्तिम चारमा नै स्तब्ध भएको थियो। सन् २०२१ को टोकियो ओलम्पिकमा पनि स्विडेन फाइनलमा क्यानडासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। ‘सबै निकै निराश र दुखी भइरहेका छन्,’ प्रशिक्षक गरहार्डसनले भने, ‘हामी खेलमा बराबरी गरेपछि निकै उत्साहित थियौं। अब हामी खेललाई अतिरिक्त समयमा लान्छौं र आफ्नो पक्षमा पार्छौं भन्ने थियो। तर, सफल भएनौं।’ यो हारका बावजुद स्विडेन जारी विश्वकपबाट घर फर्किने छैन। अब, ब्रिसबेनमा शनिबार हुने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। सन् २०११ र ०१९ को संस्करणमा पनि स्विडेन तेस्रो भएको थियो।

चार वर्षअगाडि पनि सेमिफाइनलमा पराजित भएपछि स्विडेनले तेस्रो स्थानका लागि इङ्ल्यान्डलाई हराएको थियो। ‘शनिबार हामी अस्ट्रेलिया या इङ्ल्यान्डविरुद्ध खेल्दै छौं। त्यो खेलका लागि हामी तयार छौं,’ गरहार्डसनले भने, ‘हामी तेस्रो स्थानका लागि भने सफल हुनेछौं। त्यसतर्फ नै अब ध्यान केन्द्रित गर्छौं।’ यसअघि चारवटा विजेता नै बाहिरिसकेकाले आइतबार हुने फाइनलको ट्रफीमा नयाँ टोलीको नाम कुँदिनेछ। स्विडेनका प्रशिक्षक गरहार्डसनले स्पेनले सफलता पाउने आशा व्यक्त गरेका छन्। ‘स्पेनले फाइनल जित्नेछ भन्ने मलाई लाग्छ। किनकि जुन तरिकाले उनीहरूले खेले त्यो मलाई मन परेको छ। उनीहरू उत्कृष्ट टोली हुन्।’ 

प्रकाशित: ३१ श्रावण २०८० ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App