२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला फुटबलकी ‘पेले’को अपूर्ण करियर?

ब्राजिलियन फुटबलकी लिजेन्ड मार्टाले आफ्नो अन्तिम महिला विश्वकपमा आफ्नो विरासत र करियर कस्तो होला भन्ने विषयमा भावुक हुँदै आँसु खसालेकी छन्।  

ब्राजिलले मेलबर्नमा समूहको अन्तिम खेल बुधबार जमैकाविरुद्ध खेल्दै छ। जारी विश्वकपमा यात्रा जारी राख्न ब्राजिलसँग जितको विकल्प हुने छैन। ३७ वर्षीया मार्टा ब्राजिलकी लिजेन्ड हुन्। स्वर्गीय पेलेको उपनामले पनि चिनिने मार्टाले यो विश्वकप आफ्ना लागि अन्तिम हुने स्पष्ट पारिसकेकी छन्। उनै मार्टा विश्वकप फुटबलमा पुरुष या महिला दुवैमा सर्वाधिक गोलकर्ता पनि हुन्। विश्वकपमा १७ गोल गरेकी मार्टाले यस पटक गोल गरिन् भने छैटौं विश्वकपमा गोल गर्ने उनी पहिलो फुटबलर हुनेछिन्।  

‘के राम्रो भयो भन्ने तपाईंहरू थाहा छ? जब मैले करियर सुरु गरें, त्यति बेला महिला विश्वकपमा कोही आइडल थिएनन्,’ जमैकासँगको खेलअगाडि पत्रकारसँग कुराकानी गर्ने क्रममा उनका आँखा आँसुले भरिए। ‘जब महिला फुटबल हुँदैन थिए भने यो कसरी सम्भव थियो? म आफै पनि राष्ट्रिय टोलीसम्म कसरी पुग्थें र कसैका लागि सन्दर्भ विन्दु बन्थें होला र?,’ उनले प्रश्न गर्दै भनिन्, ‘अहिले म बाटो हिँडे भने मानिसहरू मलाई रोक्छन्। केही अविभावक मेरी छोरी पनि तिमीजस्तै बन्न चाहन्छन् भन्छन्।’

मार्टाको जीवन निकै संघर्षपूर्ण तरिकाले अगाडि बढेको थियो। बालापनमा गरिबीदेखि लैंगिक विभेदसम्म र पछिल्ला समय चोटले संघर्षरत करियर मार्टाको जीवनको तीतो सत्यो रह्यो। ‘यी कुराहरू २० वर्षअगाडि सन् २०००३ मा हुँदा म निकै खुसी हुन्थें होला। जति बेला मलाई कसैले चिन्दैनथे,’ महिला फुटबल कति पछाडि रह्यो भन्ने विषयमा मार्टाले थपिन्। कयौं सफलताका बीच पनि मार्टाले कहिल्यै विश्वकप जित्न सकिनन्। उनै मार्टा जमैकाविरुद्ध खेल्छिन् कि खेल्दिनन् भन्ने पनि दुबिधामा नै छ। खेलमा जीवन्त रहन ब्राजिललाई जितको विकल्प नभएकाले प्रशिक्षक पिया सुन्धागेले उनलाई बेन्चमा नै सीमित गर्न सक्छिन्।  

घातक हतियार  

समूह ‘एफ’ का अन्तिम खेल बाँकी छँदा जमैका दोस्रो र फ्रान्स शीर्ष स्थानमा छन्। जमैकाले पानामालाई १–० ले हराउँदा अन्तिम समयमा गोल गरेको थियो। त्यससँगै जमैकाले महिला विश्वकप इतिहासकै पहिलो जित प्राप्त गरेको हो। पानामाविरुद्ध जित निकाल्दा उनीहरू प्रमुख स्ट्राइकर खादिजा सअ टोलीमा थिइनन्। पहिलो खेलमा फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दा खादिजाले रातो कार्ड सामना गरेकाले पानामाविरुद्धको खेल उनी बाहिरिनुपरेको हो। २६ वर्षीया खादिजाले गत सिजन म्यानचेस्टर सिटीबाट ३० खेलमा ३१ गोल गरेकी थिइन्। उनी ब्राजिलविरुद्ध फर्किनेछिन्।

‘खादिजा हाम्रो घातक हतियार हुन्। उनी गोलहरू गर्न सक्छिन्। जमैकाको पनि उनी सर्वाधिक गोलकर्ता हुन्,’ जमैकाका प्रशिक्षक डोनाल्डसनले भने, ‘उनी राम्रो नेतृत्व र उत्कृष्ट फुटबलर हुन्।’ डोनाल्डसनको टोली विश्ववरीयतामा ४३औं स्थानमा छ भने ब्राजिल आठौं स्थानको टोली हो। प्रशिक्षक डोनाल्डसनले आफ्नो टोलीलाई समूहकै कमजोर मानिए पनि उचित स्थान प्राप्त गर्न सफल भएको बताए। उनले आफ्ना खेलाडीलाई धैर्य गर्न भनेका छन्। ‘ब्राजिल हामीविरुद्ध आफूसँग भएका सबैथोक लिएर उत्रनेछ। तर, हामी पनि त्यसका लागि तयार नै छौं,’ उनले भने, ‘हामी अभैm यो विश्वकपमा बस्न चाहन्छौं भन्ने सन्देश दिनेछौं।’ 

प्रकाशित: १७ श्रावण २०८० ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App