कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले आज चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्यो। कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे। चावहिलका रन्जित लामाले १ गोल फर्काए।
चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बूढानीलककण्ठले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन्।चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो। नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे।
एसएनकेसीले कोटेश्श्वरलाई १०–० को भारी गोलअन्तरले पाखा लगायो। विजेताका सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे। सरोज थापाले २ तथा राकेश श्रेष्ठ र प्रदीप लामाले १–१ गोल थपे। सोम तामाङको निर्णायक गोल मद्दतमा बूढानीलकण्ठले जंगवीर युनाइटेडलाई १–० ले पन्छायो।
प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे। नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी छन्।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र म्यान अफ द सिरिजु लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। फाइनल असार ४ गते हुनेछ।
प्रकाशित: ३० जेष्ठ २०८० १४:३३ मंगलबार