चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाउन सफल भएको छ। मंगलबार राति भएको रोमान्चक खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।
चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो। जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भयो।
एमए चिदंबरम स्टेडियम चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।
चेन्नईका लागि रवीन्द्र जडेजाले ब्याटिङ र बलिङ, दुवैमा उत्कृष्ट प्रदर्शन गरे। सुरुवाती ब्याटिङमा २२ रन बनाएका जडेजाले गुजरातलाई रोक्नका लागि महत्वपूर्ण २ विकेट लिए। म्यान अफ द म्याच भएका चेन्नइका रुतुराज गाइकवाडले सर्वाधिक ६० रन बनाए। चेन्नई १०औं पटक आईपीएलको फाइनल प्रवेश गरेको हो। चेन्नई ४ पटक आईपीएलको च्याम्पियन बनिसकेकाे छ।
हारका बाबजुद गुजरातलाई फाइनल प्रवेशको अर्को अवसर हुनेछ। आज हुने एलिमनिटेर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ।
प्रकाशित: १० जेष्ठ २०८० ०२:१० बुधबार