स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई क्लबमा फिर्ता ल्याउन सम्भव भएसम्म सबै कदम चालिने बताएका छन्।
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग मेसीको सम्झौता यसै सिजनको अन्त्यसम्म मात्र कायम छ। मेसी र पिएसजीबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन। दुवै पक्ष सम्झौता नवीकरण गर्न इच्छुक देखिएका छैनन्।
मेसी बिनाअनुमति साउदी अरेबियाको भ्रमणमा गएको भन्दै पिएसजीले उनीमाथि २ साताको प्रतिबन्ध लगाएको थियो। यसैबीच गत साता मात्र साउदी प्रो लिगको क्लब अल हिलालले विश्व कीर्तिमानी रकममा मेसीलाई अनुबन्धित गर्नेबारे मौखिक सहमति भएको खबर बाहिरिएको थियो। मेसीका चिर प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
बार्सिलोनाले आइतबार मात्र स्पानियोलमाथि ४–२ को सहज जितसहित २०१८–१९ सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो। शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलमा ८५ अंक छ भने समान खेलमा दोस्रो स्थानको रियालको ८१ अंक छ।
बार्सिलोना आफ्ना सर्वकालीन गोलकर्ता मेसीलाई क्याम्प नोउ फर्काउने प्रयासमा छ। मेसी पिएसजीबाट लगातार दोस्रो सिजन फ्रेन्च लिग वान जित्ने संघारमा छन्। बार्सिलोनाले सन् २०२१ मा आर्थिक कारण देखाउँदै सम्झौता नवीकरण गर्न अस्वीकार गरेसँगै मेसी पिएसजी पुगेका थिए।
लापोर्टाले क्लब र मेसीबीच सम्बन्ध सुधारको प्रयासमा पटकपटक छलफल भएको बताए। मेसीले क्याम्प नोउमा फर्कने सम्भावना नकार्न नसकिने बताउँदै आएका छन्।
‘क्लबले मेसीलाई अन्यत्र जान दिनु हुँदैनथ्यो,’ लोपोर्टाले भने, ‘तर आर्थिक समस्याका कारण क्लब सो कदम चाल्न बाध्य भयो। हामी त्यो भूल सुधार्न चाहन्छांै। मेसी अहिले पनि विश्वकै उत्कृष्ट खेलाडी हुन्। त्यसैले उनलाई क्याम्प नोउ फर्काउन हामी जुनसुकै मूल्य चुकाउन तयार छौं। मेसी र हामीबीच अहिले पनि संवाद छ।’
‘मेसी अहिले पिएसजीमा छन् र उनी अहिले त्यही केन्द्रित छन्,’ लापोर्टाले थपे, ‘मेसी क्याम्प नोउमा आउने वा नआउनेबारे यस सिजनको अन्त्यपछि मात्र निर्णय हुन्छ।’
प्रकाशित: २ जेष्ठ २०८० ०१:४१ मंगलबार