८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सुदूर पहाडका भलिबल अभियन्ता

धनगढीमा ‘एसपिए कप क्रिकेट’को दोस्रो संस्करण चलिरहेको थियो। धनगढीको प्रतिष्ठित शैक्षिक संस्था सुदूरपश्चिम एकेडेमी (एसपिए कलेज)ले आयोजना गरेकाले प्रतियोगिताका नाम ‘एसपिए कप’ राखिएको थियो।

यो प्रतियोगिताको परिकल्पना गर्ने व्यक्ति सुभाष शाही थिए। उनी एसपिए कलेजका प्रबन्ध निर्देशक पनि हुन्। शाही तिनै व्यक्ति हुन् जसले धनगढीलाई क्रिकेटको सहर भनी चिनाए। पछिल्लो समय धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुनुपर्छ भनेर अभियान चलाइरहेका छन्। ‘ड्रिम फाप्ला’ भनेर अवधारणा सार्वजनिक गर्दै धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका लागि राज्यसँग दबाबमूलक अभियान चलाइरहेका छन्। एसपिए कप क्रिकेटबाटै शाहीको अभियानको सिलसिला सुरु भएको हो।

शाहीको अगुवाइमा धनगढीमा चलिरहेको एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहँदा डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी सुदूरपश्चिम एकेडेमीमै अध्ययनरत थिए।

संयोगले बोगटी एसपिए कलेजका प्रबन्ध निर्देशक शाहीको पुख्र्यौली गाउँ र बोगटीको गाउँ कपल्लेकी र मुडेगाउँ छिमेकी गाउँ पनि थिए। यहीकारण शाहीसँग निकट रहेर बोगटीले काम गर्ने अवसर पाए। जसमा एसपिए कपको तयारी र व्यवस्थापकीय काममा समेत सघाउने जिम्मेवारी पाए।

धनगढीमा ‘एसपिए कप क्रिकेट’को दोस्रो संस्करण चलिरहेको थियो। धनगढीको प्रतिष्ठित शैक्षिक संस्था सुदूरपश्चिम एकेडेमी (एसपिए कलेज)ले आयोजना गरेकाले प्रतियोगिताका नाम ‘एसपिए कप’ राखिएको थियो। 

त्यहीं जिम्मेवारी निर्वाह गर्दैगर्दा बोेगटीमा खेलकुदप्रतिको युवा क्रेज र महत्वबारे अनुभूति भयो। त्यसबाहेक खेलबाट समाज र राष्ट्रको ध्यान कसरी केन्द्रीकृत गर्न सकिन्छ थाहा पाए र खेलकुदको अन्तर्राष्ट्रिय महत्व र गौरवबारे पनि जानकार हुने अवसर पाए।

‘विद्यालयस्तरमा पढ्दा खेलकुदलाई सामान्य अतिरिक्त क्रियाकलाप र रमाइलोका रूपमा लिइन्थ्यो। हामी रमाइलोका लागि खेल्थ्यौं, विद्यालय र अन्तरविद्यालय स्तरमा एकाध प्रतियोगिता आयोजना हुन्थे,’ बोगटी भन्छन्, ‘हाम्रो बुझाइ पनि त्यत्तिमै सीमित थियो। खेलको राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्व र त्यसले समाज तथा राष्ट्रलाई दिने पहिचान तथा गौरवको विषयमा अनभिज्ञ रहेछु। जुन कुरा एसपिए आयोजना हुँदा महसुस भयो।’

त्यो महसुसीकरणले बोगटीमा नयाँ हुटहुटी जगायो। त्यो हुटहुटीले आफ्नै गाउँठाउँमा पनि खेलकुदको विकास गरेर गौरव आर्जन गर्ने लालसा पैदा गर्‍यो। उनी भन्छन्, ‘एसपिएजस्तै आफ्नै गाउँ (डोटीको कपल्लेकी)मै प्रतियोगिताका आयोजना गरेर खेलप्रेमी युवा उतारेर खेलको प्रवद्र्धन गर्ने र आफ्नो जन्मस्थलको पहिचान र गौरव सिर्जना गर्ने चाहना पलायो।’

त्यसअघि कपल्लेकी डोटीका ग्रामीण क्षेत्रका विद्यार्थीका लागि माध्यमिक शिक्षाको आकर्षणको केन्द्र थियो। ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने उक्तिलाई चरितार्थ गर्नेगरी केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीलाई प्रधानाध्यापक गगन कार्कीले नमुना सामुदायिक विद्यालय बनाएका थिए। जहाँ अंग्रेजी माध्यमबाट पनि पठनपाठन हुँदै आएको छ। जुन कुशल व्यवस्थापन, विद्यालय र समुदायको सघन गठजोडले जिल्लाकै नमुना विद्यालय हो।

त्यो महसुसीकरणले बोगटीमा नयाँ हुटहुटी जगायो। त्यो हुटहुटीले आफ्नै गाउँठाउँमा पनि खेलकुदको विकास गरेर गौरव आर्जन गर्ने लालसा पैदा गर्‍यो।

यता बोगटीमा खेलकुदमार्फत नमुना काम गर्ने सोचको हुटहुटी पलाउँदा चुनौतीका असंख्य चाङ उनका अगाडि उभिएका थिए। ‘सोच त आयो। तर, हाम्राअघि चुनौतीका चाङ थिए। कपल्लेकी धनगढीजस्तो सुविधासम्पन्न सहर थिएन, एक सानो गाउँ न हो,’ बोगटी सम्झन्छन्, ‘गाउँमा न खेलमैदान थियो, न आर्थिक स्रोत। न आगन्तुक खेलाडीहरू बस्न मिल्ने होटलबास।’

जताततै पहाडे भिरालो, भिरमाथि डाँडोमा विद्यालय, विद्यालयको सानो खेलमैदान, तत्कालीन गाउँ विकास कार्यालय, स्वास्थ्य चौकीहरू रहेको ठाउँमा क्रिकेट, फुटबलजस्ता ठुला मैदान आवश्यक पर्ने खेलकुदको प्रतियोगिता आयोजना गर्न सम्भव नै भएन।

यस्तोमा अब के गर्ने? बोगटी सरसल्लाह गर्दै गए। सरसल्लाहका क्रममा भलिबल प्रतियोगिता गर्न सकिने निष्कर्ष निस्कियो। ‘भलिबलका लागि केदारेश्वर माध्यमिक विद्यालयको भलिबल कोर्ट छँदै थियो, जहाँ प्रतियोगिता आयोजना गर्न मिल्ने भयो,’ बोगटीले भने, ‘खेलाडी दिपायल बजारमा राख्न मिल्ने भयो। त्यहाँबाट एकडेढ घण्टामा गाडी चढेर कपल्लेकी पुग्न सकिन्छ भन्ने भयो।’

त्यतिन्जेलसम्म बोगटीले स्थानीय युवाहरू सम्मिलित कपल्लेकी युवा समाज निर्माण गरिसकेका थिए। यति सब भइसकेपछि युवा समाजमा जोश आयो। त्यो जोशसहित परामर्शको कुरा थप अगाडि बढ्यो। ‘प्रतियोगिता त गर्ने। तर, पुरस्कार राशीसहित व्यवस्थापकीय खर्चका लागि पैसाको जरुरत थियो,’ बोगटी सम्झन्छन्, ‘त्यसपछि सम्भावित स्रोतका आधार खोज्न थाल्यौं।’

जताततै पहाडे भिरालो, भिरमाथि डाँडोमा विद्यालय, विद्यालयको सानो खेलमैदान, तत्कालीन गाउँ विकास कार्यालय, स्वास्थ्य चौकीहरू रहेको ठाउँमा क्रिकेट, फुटबलजस्ता ठुला मैदान आवश्यक पर्ने खेलकुदको प्रतियोगिता आयोजना गर्न सम्भव नै भएन।

यसैगरी पहिलो छलफल धनगढीको एसपिए कप क्रिकेटका परिकल्पनाकार शाहीसँगै भयो। शाहीले नै प्रतियोगितामा पहिलो काँध थाप्ने भए। प्रतियोगिताको आयोजनाका लागि शाहीको नेतृत्वमा रहेको सुदूरपश्चिम एकेडेमीले मुख्य प्रायोजन गर्ने भयो। त्यसपछि प्रतियोगिताको नामकरण भयो–एसपिए कपल्लेकी भलिबल सिल्ड।

बाँकी प्रायोजन स्थानीय स्तरबाट जुटाएर २०६८ सालमा पहिलो संस्करणको प्रतियोगिता भयो। जसमा प्रथम पुरस्कार २५ हजार राखिएको थियो। ‘प्रतियोगिता गजब भयो। खेलाडी र दर्शकको अपार माया पाइयो,’ बोगटी सम्झन्छन्, ‘त्यसले असीमित उत्साह र ऊर्जा दियो।’

त्यसपछि लगातार ७ संस्करणसम्म प्रतियोगिता चल्यो। प्रथम पुरस्कारको राशी पनि २५ हजारबाट बढाएर एकलाख ५० हजारसम्म पुगेको छ। बीचमा केही वर्ष कोभिड–१९ को महामारी फैलिँदा रोकिएको प्रतियोगिताले गएको मंसिर-पुसमा सातौं संस्करण आयोजना गर्न पनि भ्याएको छ। एसपिए कपल्लेकी भलिबल सिल्ड प्रदेशस्तरीयसम्म सञ्चालित भइसकेको छ। पछिल्लो संस्करण भने डोटीभित्रका अन्तरपालिकास्तरीय सञ्चालन गरिएको थियो।

एसपिए कपल्लेकी भलिबल सिल्ड प्रदेशस्तरीयसम्म सञ्चालित भइसकेको छ। पछिल्लो संस्करण भने डोटीभित्रका अन्तरपालिकास्तरीय सञ्चालन गरिएको थियो।

यही प्रतियोगिताले सुदूरपश्चिम पहाडका भलिबल एवम् खेलकुदप्रेमीबीचमा बोगटीको कद पनि बढाएको छ। ‘जतिबेला सुदूरपश्चिम पहाडमा भलिबलका प्रतियोगिताहरूको शून्यता थियो। त्यो बेला दीपकजीहरूले कपल्लेकी भलिबल सिल्ड आयोजना गराए। त्यसले दबिएर रहेका भलिबल प्रतिभाहरूले आफ्नो खेल देखाउने मौका पाए,’ भलिबलका राष्ट्रिय रेफ्री एवम् नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजबहादुर खड्का भन्छन्, ‘त्यसैले त्यसको आयोजक रहेका कारण खेलाडी तथा युवाहरूमा दीपकजीको लोकप्रियता स्वाभाविक रूपमा बढ्यो।’

खड्का अनुभवअनुसार सुदूरपश्चिम पहाडमा सबैभन्दा बढी खेलिने खेल भनेकै भलिबल हो। यहाँका हरेक टोल र हरेक विद्यालयमा विद्यार्थी तथा बालबालिका भलिबल खेलिरहेका भेटिन्छन्। ‘पहाडका बालबालिका, युवा तथा विद्यार्थीहरूको दैनिकीसँग नै भलिबल जोडिएको हुन्छ,’ केन्द्रीय सदस्य  खड्का भन्छन्, ‘यसरी खेल्ने र जन्मिने भलिबलमा तमाम प्रतिभाहरू गाउँघरमै खेर गइरहेका छन्। पछिल्लो समय त स्थानीय तहले पनि भलिबल खेलाइरहेका छन्। त्यसअघि सशस्त्र द्वन्द्वपछिको र स्थानीय तहमा जनप्रतिनिधि आउनअघिको समयमा भने भलिबल प्रतियोगितामा शून्यता नै थियो।’

खड्का अनुभवअनुसार सुदूरपश्चिम पहाडमा सबैभन्दा बढी खेलिने खेल भनेकै भलिबल हो। यहाँका हरेक टोल र हरेक विद्यालयमा विद्यार्थी तथा बालबालिका भलिबल खेलिरहेका भेटिन्छन्।

त्यही शून्यताको समयमा बोगटीलगायतका युवाले कपल्लेकी भलिबल सिल्डको आयोजना गर्दा उक्त प्रतियोगिता चर्चित बनेको थियो। पछि सोही प्रतियोगिताको सिको गर्दै डोटीका अन्य क्षेत्र र छिमेकी जिल्लाका युवाहरूले पनि धमाधम प्रतियोगिताको आयोजना गर्न थाले।

एसपिए कपल्लेकी भलिबल सिल्डको सफल आयोजनापछि बोगटीलाई डोटी जिल्ला भलिबल संघले जिल्ला अध्यक्षसमेत भूमिका दियो। जिल्ला अध्यक्ष हुँदा उनले डोटीका स्थानीय तहहरूलाई खेलकुद र त्यसमा पनि भलिबल प्रतियोगिताहरू आयोजना गर्न प्रेरित गर्नेगरी सुझावहरू दिइरहे। आयोजना हुने प्रतियोगितामा जिल्ला भलिबल संघबाट सकेको सहयोग जुटाएर दिने प्रचलनको विकास गरेका छन्।

पछिल्लो समय बोगटी शिखर नगरपालिका-१ को वडाध्यक्ष पनि चुनिएका छन्। वडाध्यक्ष चुनिएपछि एसपिए कपल्लेकी भलिबल सिल्डको निरन्तरताका लागि पूर्णरूपमा सक्रिय भएर लागेका थिए। यस्तै नगरपालिका क्षेत्रमा खेलकुद र भलिबलको विकासमा पनि विशिष्ठ योजना बनाएर अघि बढेको बताउँछन्।

एसपिए कपल्लेकी सिल्डजस्तै डोटीमा पछिल्लो समय निरन्तर आयोजना हुने भलिबल प्रतियोगिता र बोगटीजस्तै भलिबललाई अभियानकै रूपमा चलाउने अन्य युवाहरूको सक्रियताले डोटीको भलिबल टिम सुदूरपश्चिमकै उत्कृष्ट बनेको छ। पछिल्लो समयमा हुने प्रदेश स्तरीय प्रतियोगिताहरूलाई डोटीको भलिबल टिमले धमाधम जित्दैआएको छ। भलिबलका राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश स्तरीय टिममा पनि डोटीका खेलाडीहरूको बाहुल्य हुन थालेको छ। 

प्रकाशित: २३ वैशाख २०८० ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App