२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

उपमेयर गौल्डकपः मोरङ र झापा फाईनलमा

अनितम सेमिफाईनलकी म्यान अफ द म्याच सुप्रिया मियालाई पुरस्कार दिदै उपमेयर राई। तस्विरः महेश्वर

सातादिनयता सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी भएको छ। बिहीबार सम्पन्न खेलमा नमोबुद्ध युथ क्लब सप्तरीलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ फाईनलमा पुगेको हो।

खेल सुरु भएको ३२ औँ मिनटमा मोरङकी खेलाडी सुप्रिया मियाले गोल गरेर समूहलाई अघि बढाएकी थिइन्। ८० मिनटको खेल अवधिभर सप्तरीबाट जवाफी गोल हुन नसकेपछि सोही गोल निर्णायक बन्दै मोरङलाई फाईनलको यात्रामा सहभागी हुने अवसर दिलाएको हो। खेलको म्यान अफ द म्याचको उपाधि उनै सुप्रिया मियाले पाइन्। बिहीबारको खेलसँगै सेमिफाईनल सकिएको छ।

अघिल्लो दिन बुधबारको पहिलो सेमिफाईनलमा अल इन वान भाफा ९–१ गोल गर्दै फाईनलमा प्रवेश गरिसकेको छ। झापाले माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरीलाई पराजित गर्दै  फाईनलको यात्रा तय गरेको हो। सुरुवातदेखि नै गोलको वर्षा गर्न थालेको झापाले खेल अवधिभर ९ गोल गर्न सफल भयो भने सुनसरीबाट खेलको अन्तिममा १ गोल फर्काएर निल हुनबाट बँचेको थियो।

झापाकी रजनी थोकरले समूहका लागि ४ गोल गरेकी थिइन् भने अर्की खेलाडी सबिता राना मगरले ३ गोलको ह्याट्रिक गर्दा ममता राउत र इशा राना मगरले थप १÷१ गोल गरेर प्रतियोगिताको अहिलेसम्मकै सर्वाधिक गोल गरेर टिमलाई फाईनलमा पुर्याए। खेलको म्यान अफ द म्याच उपाधि सुनसरीकी बिनिता राईले पाईन्।

स्थानीय थरुहट उदयपुृर रंगशालामा भईरहेको खेलको फाईनल प्रतिस्पर्धा आउँदो शनिबार हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरले जनाएको छ। १ लाख नगद र ट्रफिका लागि शनिबार दिउँसो ३ः०० बजे झापा र मोरङबीच स्पर्धा हुने एन्फाका अध्यक्ष रञ्जन कार्कीले बताए। प्रतियोगिताको उपविजेताले ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ। बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार नगदसहित सिल्ड र प्रमाणपत्र तथा अन्य पुरस्कृतलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिने छ।

त्रियुगा नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विजय कुमार सिंहले बताएका छन्।  

प्रकाशित: २१ वैशाख २०८० १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App