काठमाडौं– नेपालमा पहिलो पटक अक्सन (बोलकबोल) बाट क्लबले खेलाडी लिएको धनगढी प्रिमियर लिग (डिपिएल) लाई जगदम्बा इन्टरप्राइजेजले प्रायोजन गर्ने भएको छ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र जगदम्बा इन्टरप्राइजेजका महाप्रबन्धक उदयप्रकाश शर्माले मंगलबार प्रायोजन सम्झैता पत्रमा हस्ताक्षर गरे । चैत ५ बाट धनगढीमा हुने प्रतियोगिताको मुख्य प्रयोजक भने घोराही सिमेन्ट हो । सगरमाथा सिमेन्टको नामबाट हुने प्रतियोगता अब ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग पावर्ड वाई जग शक्ति टिएमटी बार’ हुने सम्झौता कार्यक्रममा जानकारी गराइयो।
प्रायोजनवापत जगदम्बा इन्टरप्राइजेजले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ७ लाख रूपैयाँ प्रदान गर्नेछ।
ट्वान्टी–२० स्वरूपमा खेलाइने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज क्लब अत्तरियाको सिवाई क्लब, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कन्चनपुर आइकोनिक र टिम चौराह धनगढीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी सबै टोलीले पुस २३ गते अक्सनबाट खेलाडी किनेका थिए ।
सम्झैता पत्रमा हस्ताक्षर गरेपछि जगदम्बाका महाप्रबन्धक शर्माले नेपाली खेलकुदमा निजी क्षेत्रको लगानी आवस्यक रहेको औल्याए । ‘हाम्रो जस्तो कम्पनीहरुले खेलकुदमा लगानी गर्नु पर्छ । यस्तो लगानीले खेलकुद विकासमा मात्र सहयोग पुग्ने होइन । यसले कम्पनीको ब्रान्डलाई पनि माथि उकास्न मद्दत गर्छ र हाम्रा उत्पादनलाई खेलकुदको माध्यमबाट स्थापित गराउँछ ।’
एकेडेमीका अध्यक्ष शाहीले निजीको क्षेत्रको सहयोगले समग्र क्रिकेट विकासमा सहयोग पुग्ने बताए । उनले थपे, ‘औद्योगिक प्रतिष्ठानहरु खेल क्षेत्रसँग जोडिनु सुखद पक्ष हो । खेलकुदसँग जोडिँदा औद्योगिक प्रतिस्ठानहरुलाई पनि फाइदा गर्छ ।’
प्रतियागिताको विजेताले १५ लाख रूपैयाँ नगद पुरस्कार जित्नेछ भने दोस्रो हुनेले ७ लाख रूपैयाँ पाउनेछ । त्यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान टिभिएस मोटरसाइकल पाउनेछन् ।
प्रकाशित: १९ माघ २०७३ ०१:५३ बुधबार